एजेन्सी : बेल्जियम र नेदरल्याण्ड्स युरोपको विभिन्न ११ शहरमा आयोजना भइरहेको १६ औं संस्करणको युरोकप फुटबलको राउण्ड अफ सिक्सटिनमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा अष्ट्रियालाई २–० ले हराउँदै नेदरल्याण्ड्स नक आउट चरणमा पगेको हो ।
अष्ट्रियाविरुद्धको खेलमा नेदरल्याण्ड्सलाई विजयी गराउन मेम्फिस डिपे र डेन्जेल डम्फ्रेजले एक एक गोल गरे । समूह ‘सी’ मा लगातार दुई खेल जित्दै नेदरल्याण्ड्सले एक खेल अगावै नक आउट चरणमा ठाउँ पक्का गरेको हो ।
यही समुहको अर्को खेलमा युक्रेनले उत्तरी मेसेडोनियालाई २–१ ले हरायो ।
जितसँगै युक्रेन पनि अर्को चरणमा प्रवेश गर्ने सम्भावना जिवित राखेको छ भने उत्तरी मेसेडोनियाको यात्रा समूह चरणमै टुंगिने निश्चित भएको छ ।
उता समुह ‘बी’ को खेलमा डेनमार्कलाई २–१ ले हराउँदै बेल्जियम पनि राउण्ड अफ सिक्सटिनमा पुगेको छ ।
डेनमार्ककको कोपन हेगेनमा गएराति भएको खेलमा घरेलु टोलीका योसुफ पौल्सेनले दोस्रो मिनेटमै एक गोल गरे । तर दोस्रो हाफमा बेल्जियमका थोर्गन हाजार्ड र केभिन डे ब्रायनले एक एक गोल गर्दै बेल्जियमलाई विजयी गराए ।
आज तीन खेल हुने
युरोकप फुटबलमा आज (शुक्रबार) तीन खेलहरु हुँदैछन् । युरोकपको समूह चरण अन्तर्गत आज हुने पहिलो खेलमा स्विडेन र स्लोभाकियाबीच प्रतिस्पर्धा हुनेछ । समूह ’ई’ मा रहेको दुई टिमबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ ।
आज स्लोभाकिया लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा स्लोभाकियाले पोल्याण्डलाई २–१ गोल अन्तरले हराएको थियो । स्लोभाकिया समूहको शीर्ष स्थानमा रहेको छ ।
स्विडेन भने पहिलो जित निकाल्ने योजनामा हुनेछ । स्विडेनले पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरी खेलेको थियो । स्विडेन १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
दोस्रो खेलमा क्रोएसिया र चेक रिपब्लिक भिड्ने छन् । दुई टिमबीचको खेल बराति ९ः४५ बजे सुरु हुनेछ । समूह ’डी’ मा रहेको क्रोएसिया पहिलो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा क्रोएसिया इंग्ल्यान्डसँग १–० गोल अन्तरले पराजित भएको थियो । क्रोएसिया समूहको तेस्रो स्थानमा रहेको छ ।
चेक रिपब्लिक भने लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा चेक रिपब्लिकले स्कटल्याण्डलाई २–० ले हराएको थियो । चेक रिपब्लिक ३ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ ।
आज हुने तेस्रो खेलमा इंग्ल्यान्ड र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । इंग्ल्यान्ड र स्कटल्याण्डबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । समूह ’डी’ को इंग्ल्यान्ड लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । इंग्ल्यान्ड ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।पहिलो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई हराएको थियो ।
स्कटल्याण्ड भने पहिलो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा स्कटल्याण्ड चेक रिपब्लिकसँग स्तब्ध भएको थियो । अंक विहीन स्कटल्याण्ड पुछारमा रहेको छ ।