तनहुँका चार स्थानीय तहलाई हेफरको २७ लाख सहयोग



तनहुँ : कोभिड–१९ विरुद्ध जुध्न हेफर इन्टरनेशनल नेपालले तनहुँको चार स्थानीय तहमा रु २७ लाख सहयोग गरेको छ । हेफर इन्टरेनशनलले आफ्नो कार्यक्रम सञ्चालन भएका पालिकाको कोभिड कोषमा आर्थिक सहयोग गरेको हो ।

हेफरले देवघाट गाउँपालिकालाई रु १५ लाख, भिमाद नगरपालिकालाई रु चार लाख, व्यास नगरपालिकालाई रु चार लाख र शुक्लागण्डकी नगरपालिकालाई रु चार लाख सहयोग गरेको छ । महिला समूह समन्वय समिति, चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्था र समृद्धिको लागि त्रिपक्षीय आयोगलगायतका तीन संस्थाको सहकार्यमा कोभिडविरुद्ध जुध्नका लागि देवघाटलाई रु १५ लाख सहयोग गरिएको संस्थाका चितवन जिल्ला क्लष्टर प्रबन्धक कृष्णबाबु कट्टेलले जानकारी दिए ।

उक्त रकम अक्सिजन सिलिण्डर, लिक्विड अक्सिजन, अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर, आइसीयू, एक्सरे मेसिन, आइसोलेशन तथा कोभिड अस्पताल निर्माण, स्वास्थ्य सामग्री खरिदमा खर्च गर्नुपर्ने उनले बताए । देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले कोभिड नियन्त्रणका लागि गैरसरकारी संस्थाको तर्फबाट ठूलो रकम सहयोग प्राप्त भएको भन्दै संस्थाप्रति आभार व्यक्त गरे । थापाले हेफरसँग सहकार्य गरेर गाउँपालिका अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यसैगरी भिमाद नगरपालिकालाई रु चार लाख हस्तान्तरण गरिएको छ । माझकोट महिला बहुउद्देश्यीय सहकारी संस्था, अतिप्रिय सामाजिक उद्यमी सहकारी संस्था, अरुणोदय सामाजिक उद्यमी महिला सहकारी संस्थाको तर्फबाट नगरप्रमुख मेखबहादुर थापालाई उक्त रकमको चेक हस्तान्तरण गरिएको हो । माझकोटकी अध्यक्ष सङ्गीता राना, अतिप्रियकी अध्यक्ष देवी मोक्तान आले र नेपाल एकीकृत ग्रामीण विकास केन्द्रकी अध्यक्ष मनुमाया श्रेष्ठले नगरप्रमुख मेखबहादुर थापालाई उक्त रकमको चेक हस्तान्तरण गरे । हेफर इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत सन्त भट्टराईले सामाजिक उत्तरदायित्व वहन गर्दै हेफरको कार्यक्रम सञ्चालित पालिकामा सहयोग गर्न पाएकामा खुशी व्यक्त गरे । नगरप्रमुख थापाले हेफरको सहयोगप्रति आभार व्यक्त गर्दै प्राप्त रकम कोभिड सङ्क्रमितको उपचारमा खर्च गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्