मुख्यमन्त्रीप्रति सद्भाव छ तर मत दिन सक्दिन : गुरुङ



काठमाडौं । गण्डकी प्रदेशमा प्रमुख विपक्षी नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले संघीयतालाई बलियो बनाउन डटेर लाग्दा प्रदेश सरकारलाई सहयोग गर्ने बताएका छन् ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राखेको विश्वासको मत लिने प्रस्तावमाथि प्रदेशसभामा भएको छलफलमा भाग लिँदै पूर्व मुख्यमन्त्री समेत रहेका गुरुङले संघीयता बलियो भए मात्र लोकतन्त्र बलियो हुने बताए । ‘भोलि केन्द्रमा तपाईंहरुको सरकार बन्न सक्छ, त्यो बेला पनि संघीयतालाई बलियो बनाउन आवाज उठाउन सक्नुपर्छ’ उनले भने, ‘संघीयतालाई बलियो बनाउन यो सरकार डटेर लाग्छ भने एमाले हरहमेसा सहयोग गर्न तयार छ ।’

संघीयताको चर्को कुरा गर्ने, तर भूमिका नखेल्ने प्रवृत्ति देखिएको भन्दै गुरुङले संघीयता कार्यान्वयनमा काठमाडौंका नेताहरुको मानसिकतामा समस्या रहेको बताए । तर शासकीय क्षमता र सिस्टम भत्काउन खोजे डटेर प्रतिवाद गर्ने समेत उनले चेतावनी दिए । सम्बोधनको सुरुमै गुरुङले मुख्यमन्त्री पोखरेलले प्रदेशसभामा भएका ५९ सदस्यमध्ये सबभन्दा परिपक्क र सालिन नेतृत्व भएको बताए । राजनीतिक इतिहास भएको परिवारबाट आएका पोखरेललाई विश्वासको मत दिन्नँ भन्न गाह्रो भएको उनले बताए । तर पोखरेलले आफू नेतृत्वको सरकारलाई मत मागेको भन्दै उनले भने, ‘मुख्यमन्त्रीप्रति सद्भाव छ, तर जुन अवसरवादी दलहरुको गठबन्धनको रुपमा सरकार बनेको छ, यसलाई समर्थन गर्न सक्दैनौं ।’

प्रतिक्रिया दिनुहोस्