स्थायित्वका लागि विश्वासको मत दिनुहोस् : मुख्यमन्त्री नेपाली पोखरेल



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशमा स्थायित्वको लागि विश्वासको मत दिन आग्रह गरेका छन् ।
विश्वासको मत लिन आज बोलाइएको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उनले आफूले विस्वासको मत नपाए प्रदेश सभा विघटन हुने र यसले गर्दा प्रदेशमा अस्थिरता निम्तिने भएकाले स्थायीत्वका लागि आफूलाई मत दिन आग्रह गरेका हुन् ।
जनताले ५ वर्षका लागि जनादेश दिएकाले त्यस अघि नै जनतामा जानु कुनैपनि दृष्टिकोणले उपयुक्त नहुने भन्दै उनले भने,‘मतादेश विपरित संसद विघटन गरेर दुर्घटनातिर, विघटन तिर र अस्थिरतातिर जानु संवैधानिक रुपमा पनि राम्रो नदेखिएकाले हाम्रो गठबन्धनका माननीय ज्यूहरु त हुँदै हुनुहुन्छ, म देब्रेतर्फ बस्ने बिपक्षी माननीय ज्यूहरुलाई पनि स्थायीत्वको लागि विश्वासको मत दिनुहुन अनुरोध गर्दछु ।’
‘आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संरक्षण गर्दै अगाडि बढ्नका यहाँ छौं । संघीयतालाई मजबुत र राजनीतिक स्थिरता हुन्छ भन्ने सन्देश दिन र जनताले दिएको मतादेश पाँच वर्षको लागि हो र बीचमा जनताबीच जानु कुनै पनि रुपमा उपयुक्त नहुने भएकोले विश्वासको मत दिएर समर्थन गर्न अनुरोध गर्दछु,’ मुख्यमन्त्री पोखरेल नेपालीले भने ।
उनले मुख्यमन्त्री नियुक्त भएपछि आफूले ल्याएको नीति तथा कार्यक्रम र बजेटबारे पनि चर्चा गरेका थिए ।
‘नीति तथा कार्यक्रम र बजेटमा आधारित कार्यक्रमलाई कार्यान्वयन गर्न विश्वासको मत दिन आग्रह गर्दछु,’ पोखरेलले भने ।
उनले कोभिड विरुद्धको खोप अभियान अघि बढाउन र कोराना नियन्त्रणका लागि प्रदेशमा थप तयारी गर्ने निर्णय गरेको बताए ।
उनले आफू नेतृत्वको सरकारले पाठेघर रोगको क्यान्सर उपचारका लागि शल्यक्रिया गर्ने क्रममा लाग्ने खर्च व्यहोर्ने निर्णय गरेको जानकारी दिए । सबै जिल्ला अस्पताललाई २५ देखि ५० बेडमा स्तरोन्नति गर्ने निर्णय गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्