कर्णाली सरकारमा सहभागी तीन मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन



सुर्खेत । नेकपा एमालेले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा सहभागी तीन जना मन्त्रीहरुलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छ । शुक्रबार बसेको एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले शाही नेतृत्वको सरकारमा रहेका भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापा, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढालाई तत्काल राजीनामा दिन निर्देशन दिएको हो ।
वैशाख ३ गते फ्लोरक्रस गरेर मुख्यमन्त्री शाही नेतृत्वको सरकार जोगाएका माधवकुमार नेपाल समूहका प्रकाश ज्वालासहित चार जनालाई एमालेले संसदबाट वर्खास्त गरेको थियो । जेठ २७ गते सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत चारै जनालाई संसदको हैसियत कायम गर्न आदेश दिएको थियो ।
शुक्रबारको संसदीय दलको बैठकमा पनि फ्लोरक्रस गरेका चारै जना उपस्थित नभएपछि दलको बैठकले तत्काल सरकारबाट राजीनामा दिन निर्देशन निर्देशन दिएको हो । ‘सर्वोच्च अदालतको अन्तरिम आदेश बमोजिम प्रदेशसभामा एमालेको माननीय सदस्यको रुपमा पुनःस्थापित गराउँदासमेत दलीय व्यवस्थाको आचरणविरुद्ध नेकपा माओवादी केन्द्रको नेतृत्वको सरकारमा रही रहेकाले माननीय अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई तत्काल मन्त्री पदबाट राजीनामा दिन निर्देशन दिने निर्णय भएको छ,’ दलको निर्णय पुस्तिकामा भनिएको छ, ‘सर्वोच्चबाट पुनःस्थापित चारै जनालाई संसदीय दलको सदस्यको रुपमा भूमिका निर्वाह गर्न पनि निर्देशन दिने निर्णय गरियो ।’
दलको बैठकले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्ने निर्णय पनि गरेको छ । फ्लोरक्रस गरेर मुख्यमन्त्री शाही नेतृत्वको सरकार जोगाइदिएका चार जनालाई संसदबाट निस्काशन गरेपछि संसदीय दलको सचिवालय र दलका नेता यमलाल कँडेलविरुद्ध उनीहरुले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्