उपेन्द्र यादव पक्षले बुझायो पार्टी आधिकारिताको दाबी (पत्रसहित)



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा पत्र बुझाएको छ । उपेन्द्र–बाबुराम पक्षले केन्द्रीय कार्यकारिणीका बहुमत सदस्यको हस्ताक्षरसहित पार्टीको आधिकारिकता दाबी गरेको हो । वरिष्ठ नेता राजेन्द्र श्रेष्ठकाअनुसार ३० जनाको हस्ताक्षर बुझाइएको छ ।
आयोगले राजनीतिक दलसम्बन्धी दफा ५१ अनुसार विवरण अद्यावधिक गर्न अस्वीकार गरेपछि उपेन्द्र–बाबुराम पक्षले दफा ४३–४४ अनुसार पार्टीको आधिकारिकता दाबी गरेको हो । बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आधिकारिकता दाबी गर्न आयोग जाने निर्णय गरेको थियो ।
जसपामा लामो समयदेखि उपेन्द्र–बाबुराम पक्ष र महन्थ ठाकुर पक्षबीच विवाद जारी छ । दुवै पक्षले एकअर्कालाई कारबाही गर्दै आएका छन् । उपेन्द्र–बाबुराम पक्षको सहमतिविना महन्थ ठाकुर पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएको छ ।
आयोग पुग्नेमा अध्यक्ष यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायत रहेका छन् ।
गत असार ३ गते बसेको कार्यकारिणी समितिको बैठकले आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको थियो । सत्ता समीकरणका लागि दुई पक्षमा भएको विवादका कारण जसपा दुई चिरा भएको छ । एउटा पक्षको नेतृत्व अध्यक्ष महन्थ ठाकुरले गरिरहेका छन् भने अर्कोको नेतृत्व यादवले गरिरहेका छन् । दुवै पक्षले एक अर्कालाई कारवाही गरेर पार्टीबाट निकालेपनि निर्वाचन आयोगले मान्यता नदिएपछि उपेन्द्र यादव पक्षले पार्टीकै आधिकारिकताका लागि निर्वाचन आयोग गएको हो ।

प्रतिक्रिया दिनुहोस्