गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गरेका छन् ।
मुख्यमन्त्री पोखरेलले विश्वासको मत पाउँ भनी शुक्रबार प्रस्ताव पेस गरेका थिए । उनको पक्षमा ३१ मत परेको सभामुख नेत्रनाथ अधिकारीले जानकारी गराए । यसैगरी विश्वासको मतको विपक्षमा २७ मत प्राप्त भएको छ । प्रदेश सभामा सभामुखसहित ५९ जना सहभागी थिए । ५८ जनाले पक्ष र विपक्षमा मतदान गरेका थिए ।
२९ जेठमा मुख्यमन्त्री नियुक्त भएका पोखरेलले १ महिनाभित्र विश्वासको मत लिनैपर्ने प्रावधान अनुसार मत मागेका हुन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले पोखरेललाई संविधानको १६८(५) अनुसार मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।
पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार गठनको प्रक्रिया अघि बढेको थियो । कांग्रेस,माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनमा पोखरेल मुख्यमन्त्री बनेका थिए ।
जनमोर्चा सांसद कृष्ण थापाको पद सर्वोच्चले खारेज गरिदिएपछी सभामा सांसद कायम संख्या ५९ छ । मुख्यमन्त्रीलाई कांग्रेसका १५, माओवादीका ११ (सभामुखबाहेक), जनमोर्चा र जसपाका २÷२ तथा स्वतन्त्र सांसद दिपक मनाङेको साथ छ ।

प्रतिक्रिया दिनुहोस्