ओली–नेपाल पक्षका दोस्रो तहका नेताबीच छलफल



काठमाडौं । एमाले विवाद मिलाउन दोस्रो तहका नेताहरुको सक्रियता जारी रहेको छ ।
दोस्रो तहका नेताहरु शुक्रबार पनि समिट होटल ललितपुरमा छलफल गरेका छन् । उनीहरूबीच करिब दुई घण्टाजति छलफल भएको एमाले स्थायी कमिटी सदस्य तथा ओलीपक्षीय नेता सुवास नेम्वाङले पुष्टि गरे । उनले वार्ता जारी राख्न र एकता बचाउनेगरी सहमति खोज्न दुवै पक्ष दृढ रहेको पनि जानकारी दिए ।
छलफलमा ओली पक्षका तर्फबाट सुवास नेम्वाङ र अर्थमन्त्री विष्णु पौडेल सहभागी थिए । झलनाथ खनाल र माधवकुमार नेपालको तर्फबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट रहेको बताइएको छ ।
नेता नेम्वाङले दुवै पक्षका तर्फबाट मिलन विन्दुको खोजी भइरहेको बताए । खनाल–नेपाल समूहले सहमतिका लागि ६ बुँदा अघि सारेको छ । गत जेठ २३ गते प्रधानमन्त्री ओलीले पनि एकताका लागि जेठ ३ मा फर्कन तयार रहेको बताउँदै सहमतिको प्रस्ताव अघि सारेका थिए ।
तर, त्यो अदालतमा विचाराधीन संसद् विघटनसम्बन्धी मुद्दालाई प्रभावित बनाउनेगरी प्रस्ताव आएको र जेठ २ मा फर्कने भए मात्रै समझदारी हुन सक्ने भन्दै खनाल–नेपाल पक्षले अस्वीकार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्