व्यापारीको मनोमानी अब चल्दैन : उद्योगमन्त्री यादव



सिरहा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवले देशमा अब कालोबजारी, महंगी र व्यापारीको मनोमानी नचल्ने बताएका छन् ।
मन्त्रीको रुपमा जिम्मेवारी सम्हालेपछि शुक्रबार गृहजिल्ला सिरहा आएका मन्त्री यादवले यस्तो बताएका हुन् । ‘व्यवसायीको प्राथमिकतामा व्यवसायसँगै सेवाभाव र उपभोक्ताको हित हुनुपर्छ,’ उनले भने, ‘तर, त्यस्तो देखिएन । म यिनै अवस्थाको अन्त्यको लागि मन्त्री बनेको हुँ । देशमा अब कालोबजारी, महंगी र व्यापारीको मनोमानी चल्दैन ।’
ठूल्ठूला उद्योगहरुमा मनपरी र छाडापन बढेको भन्दै यसको चाँडै अन्त्य हुने उनले दाबी गरे । जनतालाई हितहुने गरी सेवाभावले मापदण्ड भित्र रहेर सञ्चालन हुने उद्योगलाई भने प्रोत्साहन गर्ने जिम्मेवारी सरकारको रहेको भन्दै यसमा कमि नहुने पनि मन्त्री यादवले बताए ।
उद्योगी व्यवयासीको जायज माग सम्बोधनका लागि राज्यपछि नहट्ने उनको भनाइ छ । ‘औद्योगिक क्षेत्रका समस्या समाधान गरी मुलुकमा उद्योगमैत्री वातावरण बनाउन दिनरात नभनी कार्य थालनी गरिसकेको छु,’ उनले भने, ‘देशमा सरकार जनताका लागि काम गरिरहेको छ भन्ने कुरा जनतालाई अनुभूति गराउनेछु ।’
कोरोनाका कारण देशका औद्योगिक क्षेत्र प्रभावित बनेको र अर्थतन्त्र पनि धरासायी बन्न पुगेको भन्दै यसलाई गतिशील बनाउन आफू गम्भीरतापूर्वक सक्रिय भइसकेको मन्त्री यादवले जनाए ।

प्रतिक्रिया दिनुहोस्