विनाशकारी बाढीपछिको हेलम्बु : सडक न सञ्चार



सिन्धुपाल्चोक : अविरल वर्षासँगै आएको मेलम्ची बाढीले हेलम्बु गाउँपालिकाका चार गाउँको अस्तित्व नै मेटाएको छ । चिउरेखर्क, चालिसे, तल्लो तिम्बु बजार र गणेश बगरको बस्ती मेलम्चीले बगाएको हो । गाउँ भएको ठाउँ बगरमा परिणत भएको छ ।

बाढीले उजाड पारेको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको मुख्य बजार क्षेत्र, जहाँ तटीय क्षेत्रका घरहरू हिलोले आधा–आधासम्म पुरिएका छन्। हेलम्बुलाई मेलम्ची बजारसँग जोड्ने करिब ८ किलोमिटर सडक बाढीले तहसनहस पारेको छ ।

नदीमा पानीको सतह बढेपछि सतर्क भएका गाउँलेले मंगलबारको रात घर छाड्दा धेरैको ज्यान जोगियो । उक्त रात भाग्न नसकेर बेपत्ता केही मत्स्य फार्म सञ्चालक र स्थानीयसहित १४ जनाको अवस्था शुक्रबारसम्म केही खुलेको छैन ।

सिन्धुपाल्चोक सरदमुकाम चौताराबाट करिब ४० किलोमिटर पश्चिमको हेलम्बु बाढीपछि सडक र सञ्चार सम्बन्धविच्छेदको अवस्थामा छ । बाढीले ठाउँठाउँमा सडक, पुल, बिजुली र फोनका पोल बगाएको छ । पर्यटकीय गाउँ हेलम्बु यतिबेला उजाड बगर बनेको छ ।

बाढीपीडितका लागि टेन्ट र खाद्यान्नको जोहो गर्दै रहेका हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले भने, ‘यहाँ बिजुली, फोन छैन । मोबाइलको नेटवर्क पनि छैन । सडक पनि बाढीले लगेकाले हामीलाई साह्रै सकस भएको छ ।’ बाढीले यहाँका अनुमानित सय घर बगाएको उनले बताए । ६ सयभन्दा बढी परिवार घरबारविहीन भएका छन् । ‘यस्तो विपद्का बेला यहाँ कोही आउँदैनन्,’ उनले गुनासो गरे, ‘यताउति विपद्को बैठक पनि मेलम्चीमै बस्छन्, हामीलाई कसले हेर्ने ?’

मेलम्चीको मुहानस्थलबाट एक्कासि उर्लिएर आएको बाढीले हेलम्बुका पुराना चार गाउँका सबै संरचना बगाएको हो । झन्डै १८ हजार जनसंख्या भएको हेलम्बुको तालामाराङ, चनौटे, किउल, तिम्बुका बजारभर बाढीले बालुवा ल्याएर थुपारेको छ । ‘विस्थापितका लागि बास र गाँसको व्यवस्थापन गरिरहेका छौं । साँखु, मेलचौर हुँदै कुटुम्साङ हेलम्बु जोड्ने वैकल्पिक बाटोका लागि प्रयासरत छौं,’ अध्यक्ष शेर्पाले भने ।

बाढीले ध्वस्त बनेको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको मुख्य बजारक्षेत्र र ध्वस्त सडक देखाउँदै गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पा तटीय क्षेत्रमा बाढीले पूरै नबगाए पनि भत्काएका, लडाएका घरका भग्नावशेषबाट स्थानीयवासीले काठपात ओसार्दै छन् । बाढी फेरि आउने हो कि भन्ने धेरैलाई त्रास छ । अरनिको राजमार्गअन्तर्गतको मेलम्ची बजारसँग जोड्ने मुख्य सडक बीचैमा भास्सिएर टुटेपछि सहयोग र व्यवस्थापनमा यहाँका जनप्रतिनिधि, स्थानीय आफैं कस्सिएका छन् ।

केही बेरअघि आफूसँग छुटेका दाजु गणेशलाई मेलम्ची नदीले बेपत्ता बनाएको सम्झँदै हेलम्बु–२ का ४५ वर्षीय कृष्ण ज्योतिले आफूलाई सम्हाल्न सकेका छैनन् । ‘माछा फार्ममा गएका दाजुसँगै धेरैजना बेपत्ता भए, यहाँका थुप्रै घर नदीले निल्यो,’ उनले भने, ‘त्यसैमाथि पनि सडक भास्सियो, हामी त दलदलमा बसेझैं अनुभव भइरहेछ ।’ हेलम्बुको तटीय क्षेत्रमा उनका दाजुको सहित १० वटा माछा फार्म र केही रिसोर्ट मेलम्चीले बगाएर बगरमा परिणत भएको उनले बताए ।

हेलम्बु–७ चनौटे बजारका ५४ वर्षीय बुद्ध घलेको दुईतले घर बालुवाले पुरिएको छ । उनी घर पुरिएको ठाउँ आउँछन्, टोलाउँछन्, साँझ छिमेकीकहाँ बास बस्न जान्छन् । चनौटे बजारका मात्रै चार जना बाढीले बगाएर बेपत्ता भए । घर पुरिएका र बगाएर विस्थापित भएका परिवारलाई वर्षायाममा बासको प्रबन्ध कसरी गर्ने भन्ने चिन्ता छ । बाढीले मेलम्ची बजारबाट हेलम्बु जोड्ने करिब ८ किलोमिटर सडकको सिमकुना, तालाराङ, चनौटे, किउल, तिम्बु तहसनहस बनाएको छ । आउजाउको गाह्रोले राहत वितरण गर्नेहरू हेलम्बु पुगेका छैनन् । आफूलाई दिनुपर्ने राहत मेलम्ची बजार क्षेत्रमै रोकिएको गुनासो हेलम्बुवासीको गुनासो छ ।

‘चौताराबाट मेलम्ची नजिक प¥यो, त्यहाँ पुग्न सडक पनि छ । राहत त्यही मात्रै थुप्रिएको छ,’ घलेले भने, ‘यहाँका हामी सयौं पीडित परिवार अरूको घरमा सहारा लिएर बसिरहेका छौं तर हाम्रा लागि राहत आइपुगेन ।’

प्रमुख जिल्ला अधिकारी अरुणप्रसाद पोखरेलले हेलम्बु र मेलम्चीमा आएको बाढीले गरेको क्षतिको विवरण तयार भइरहेको बताए । हेलम्बु हँककदै मेलम्ची नदीमा आएको बाढीमा परेर मेलम्चीका ६ सय र हेलम्बुका ३ सय जना प्रभावित भएको प्रारम्भिक तथ्यांक रहेको जानकारी उनले दिए । मेलम्ची बजारमा झन्डै डेढ सय र हेलम्बुमा सयभन्दा बढी घर डुबानमा परेको तथ्यांक छ । घटनामा अहिलेसम्म तीन जनाले ज्यान गुमाएका छन् ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्