कांग्रेसको क्रियाशिल सदस्यता वितरण : धाँधली भएको भन्दै तालाबन्दी



बिराटनगर : नेपाली कांग्रेस, मोरङ क्षेत्र नम्बर ४ मा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै कार्यकर्ताले तालाबन्दी गरेका छन् । क्रियाशील सदस्यता वितरणमा धाँधली भएको आरोप लगाउँदै पार्टीको ४ नम्बर क्षेत्रीय कार्यालयमा तालाबन्दी गर्नेहरूमा विराटनगरका नेविसंघ नेता पास्चर घिमिरे र मिलन श्रेष्ठ छन् ।

नेपाली कांग्रेस क्षेत्रीय कार्य समितिले वार्ड समितिले सिफरिस गरी पठाएका क्रियाशील सदस्यता पाउनै पर्ने केही व्यक्तिहरुको नाम क्षेत्रीय कार्यसमितिले तानाशाही ढंगबाट पाखा लगाएको श्रेष्ठ र घिमिरेले जाी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुले पार्टीभित्र मनोमानी गर्ने गिरोहलाई कारवाही गर्न माग गरेका छन् । नेतृत्वको यस्तो व्यवहारले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो कि हैन भन्ने प्रश्न खडा भएको घिमिरे र श्रेष्ठको आरोप छ । बिराटनगर वडा नम्बर ३ निवासी सक्रिय काँग्रेस कार्यकर्ताहरूको योगदानको मूल्यांकन गर्दै क्रियाशील सदस्यता दिइनुपर्ने उनीहरुको माग छ ।


कांग्रेसले पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध विद्रोही उम्मेदवार बनेका वा त्यस्तो विद्रोही उम्मेदवारको प्रस्तावक समर्थक बनेका, पार्टी अनुशासनको कारवाहीमा परेका, पार्टी परित्याग गरेका र निधन भएकाको भने नवीकरण नहुने गरी मापदण्ड बनाएको छ ।

कांग्रेसको महाधिवेशन आगामी भदौ १६ देखि सुरु हुँदैछ । त्सका लागि अहिले क्रियाशिल सदस्यता वितरणलाई तीव्रता दिइएको भएपनि विवाद कायमै छ । जतिसक्दो छिटो विवाद समाधान गरेर भदौभित्र महाधिवेशन गर्नेपर्ने बाध्यतामा नेपाली कांग्रेस छ । भदौभित्र महाधिवेशन नगरे पार्टी नै संवैधानिक संकटमा पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्