गण्डकीमा कांग्रेस र माओवादीलाई चार/चार मन्त्रालय, जसपाका दुई सांसद नै मन्त्री



मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गण्डकी प्रदेश

काठमाडौँ : गण्डकी प्रदेशमा नयाँ सरकार बनाएको गठबन्धनले कुन दलको भागमा कति मन्त्रालय भन्ने टुंगो लगाएको छ । मुख्यमन्त्री कार्यालय सहित ११ मन्त्रालय रहेको गण्डकीमा कांग्रेस र माओवादी केन्द्रले ४÷४ मन्त्रालय पाउने भएका छन् ।

जनता समाजवादीले दुई मन्त्रालय प्राप्त गर्ने टुङ्गो लागेको छ । कांग्रेसले मुख्यमन्त्रीसहित ४ मन्त्रालय पाउने भएको हो । कांग्रेसबाट कुमार खड्का मन्त्री बनिसकेका छन् । कांग्रेसबाट थप दुई जना मन्त्री थपिनेछन् । मन्त्रीको आकांक्षी दर्जन बढी सांसद छन् ।

सत्ता गठबन्धनको अर्को हिस्सेदार माओवादी केन्द्रबाट मधुमाया अधिकारी (गुरुङ) मन्त्री बनिसकेकी छन् । माओवादीबाट अब तीन मन्त्री थपिनेछन् । सभामुख नेत्रनाथ अधिकारी सहित १२ जना सांसद माओवादी केन्द्रका छन् । सभामुख अधिकारी र मन्त्रीको सपथ लिएकी अधिकारी बाहेक सबैले मन्त्रीको दाबी गरेका छन् ।

गठबन्धनको अर्को दल जसपाका दुई सांसद नै मन्त्री बन्ने भएका छन् । हरिशरण आचार्य उक्त दलबाट मन्त्री बनिसकेका छन् । उक्त दलबाट गत शनिबार सपथ लिन नपाएको भन्दै धनमाया पोखरेल (लामा) ले असन्तुष्टि राखेकी थिइन् । स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) ले पनि मन्त्रीको सपथ लिइसकेका छन् । गत शनिबार मुख्यमन्त्री पोखरेल्सहित मन्त्रीको सपथ लिएका सबैलाई विना विभागीय मन्त्री बनाइएको थियो ।

भागबन्डामा संख्याको टुङ्गो लागे पनि कुन दललाई कुन मन्त्रालयको जिम्मेवारी दिनेमा निर्णय हुन सकेको छैन । माओवादी केन्द्रका सांसद दीपक कोइरालाले भने, ‘सङ्ख्यामा निश्चित गरियो । कुन दलले कुन मन्त्रालय पाउने निर्णय हुन केही दिन लाग्ला ।’

भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयसहित ४ मन्त्रालय माओवादीले दाबी गरेको छ । गण्डकीमा पूर्व मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले ७ बाट बढाएर ११ मन्त्रालय बनाएका थिए । धेरै मन्त्रालय एकै ठाउँमा रहँदा कार्य सम्पादन कमजोर रहेको उनको ठहर थियो । गुरुङले मन्त्रालय बढाएको कारण गठबन्धनका दललाई भागबन्डा गर्न सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्