बाढीपहिरोको प्रभाव : बागलुङ बजारमा खानेपानीको हाहाकार



बागलुङ : सरकारले गरेको निषेधाज्ञाले घरमै बसेका बागलुङका नागरिकलाई खानेपानीको अभावले घरबाहिर ल्याउन थालेको छ । अविरल वर्षासँगैको बाढीपहिराले बजार क्षेत्रभित्र खानेपानीको पाइपमा क्षति पुर्याएपछि पाँच दिनयता बागलुङ बजारमा खानेपानी आपूर्ति हुन सकेको छैन ।

बागलुङ नगर खानेपानीले आवश्यकताभन्दा कम खानेपानीको आपूर्ति गर्दै आएको सो बजारमा अहिले खानेपानीको हाहाकार नै भएको छ । अहिले खानेपानी आयोजनाको पानी सदरमुकाम ल्याउने पाइपका ठाउँठाउँमा क्षति पुगेको छ । खानेपानीको मर्मतमा प्राविधिक र बागलुङ नगर खानेपानी तथा उपभोक्त संस्थाका कर्मचारी खटिए पनि हालसम्म पानी आपूर्ति हुन सकेको छैन ।

खानेपानीको अभावमा बागलुङ बजारका बासिन्दा डोकोमा गाग्री, बोतल तथा जार बोकेर बजार पारीको तित्याङ, गैँडाकोट तथा हाँडेपाखा धाउँदै आएका छन् । खानेपानी आपूर्ति नहुँदा कोरोना कहरमा सरसफाइमा समेत समस्या भएको बजारवासीले गुनासो गर्दै आएका छन् ।

पाँच दिनदेखि धारामा पानी नआउँदा शौचालय जानसमेत कठिन अवस्था आइसकेको बागलुङ बजारका स्थानीयवासी हरि सुवेदीले जानकारी दिए । बागलुङ बजारमा रेश खोला मुहान, भुदी खोला मुहान र रिठ्ठेखोला मुहानबाट ल्याइएको पानीका पाइप विभिन्न स्थानमा बाढीपहिराले क्षति पुर्याएको छ ।

पहिराले पाइप बगाउँदा बजार क्षेत्रभित्र पिउने पानी आपूर्ति हुन सकेको छैन । निरन्तरको प्रयासका बाबजुद रेश खोलाको मसहानको खानेपानी आज बेलुकासम्म बजार ल्याउने प्रयासमा रहेको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्