मनसुन झन सक्रिय हुँदै



काठमाडौं । केही दिनदेखि सक्रिय मनसुन तत्काल कमजोर नहुने मौसमविद्ले बताएका छन् । यस वर्ष शुरुमै मनसुन सक्रिय भएर भित्रिएकाले तत्काल कमजोर हुने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् शान्ति कँडेल बताउँछिन् ।
‘यस वर्ष मनसुन सक्रिय भएर भित्रिएकाले यो वायुको प्रभाव अझै केही दिन कायम रहने देखिन्छ’, मौसमविद् कँडेलले भनिन्, ‘त्यसैले केही दिन वर्षाको सिलसिला निरन्तर जारी रहन सक्छ ।’ केही दिनपछि भने यो वायुको प्रभाव निस्तेज हुने उनको भनाइ छ ।
मनसुन शुरु हुने औसत मितिभन्दा तीन दिनअघि नै यस वर्ष सक्रिय मनसुनले लगातार पानी पारिरहेको छ । विभागका अनुसार, अहिले पनि देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ भने प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा मनसुनी वायुले हल्का पानी पारिरहेको छ । प्रदेश नं १, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका थोरै स्थानमा भने मेघगर्जनसहित भारी वर्षाको सम्भावना महाशाखाले औँल्याएको छ । महाशाखाका अनुसार वर्षाको यो सिलसिला आगामी आइतबार र सोमबार पनि जारी रहनेछ ।
यता, सीमा क्षेत्रमा रहेको चीनको तिङ्ग्री काउन्टी नजिकै पहिरो जाँदा थुनिएको रोङसी नदीको बहाव खुलाउन चिनियाँ टोली परिचालन भएको छ ।
तामाकोशी नदीको सहायक नदी रोङसी थुनिँदा बाँध फुटेर कुनै पनि बेला नेपालको दोलखासहितका जिल्लामा तल्लो तटीय क्षेत्रमा बाढी आउन सक्ने जोखिम बढेको छ ।
शुक्रबार रातिदेखि थुनिएको नदीको बहाव खुलाउनका लागि शनिबार चिनियाँ टोली परिचालन भएको जानकारी आएको दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए ।
‘रोङसी नदी पहिरोले थुनिएर बनेको तालको बाँध फुटाएर बहाव बिस्तारै खुलाउनका लागि चीनतर्फ टोली परिचालन भएको जानकारी आएको छ । तल्लो तटीय क्षेत्रमा बहाव जोखिमपूर्ण रुपमा नबढ्ने गरि बाँध बिस्तारै खुलाइने जानकारी आएको छ’, उनले भने ।
तर भवितव्य कुनै पनि बेला आउन सक्ने भएकाले सचेत भने रहनु पर्ने उनले बताए ।
चीनमा हावाहुरीसहित एक्कासी परेको भारी वर्षाका कारण लेदोसहितको पहिरोले नदीको बहाव रोक्दा तामाकोशी नदीमा कुनै पनि बेला ठूलो बाढी आउन सक्ने जोखिम कायम रहेको हो । जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राति सूचना जारी गरेर सचेत रहन आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्