संसद् विघटन नभएकोे भए खोप आइसक्थ्यो : काँग्रेस नेता थापा



काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले वर्तमान सरकारले कोरोना विरुद्धको खोप किन्ने अवसर गुमाएको बताएका छन् ।
‘कोभिडविरुद्ध हाम्रो अभियान संवाद शृंखला’लाई सम्बोधन जूममार्फत सम्बोधन गर्दै थापाले गत पुस महिनामा प्रधानमन्त्री केपी ओलीले संसद् विघटन नगरेको भए अहिलेसम्म नेपालमा खोप आइसक्ने दाबी गरे ।
थापाले खोप किन्न खर्च गरिएको पैसा खर्च नभएर लगानी भएको पनि बताए । ‘अधिकांश जनताले खोप लगाइसकेपछि लकडाउन गर्नु पर्दैनथ्यो, अर्थतन्त्र चलायमान हुन्थ्यो र खोप किन्न खर्च गरेको ४०–५० अर्ब रुपियाँ उठिसक्थ्यो’, उनले भने, ‘नालायक र अकर्मण्य प्रधानमन्त्रीका कारण देशले ठूलो क्षति व्यहोर्नु परेको छ ।’
आफू स्वास्थ्यमन्त्री हुँदा भरतपुर अस्पतालमा २ करोड रुपैयाँको लागतमा अक्सिजन प्लान्ट बनाउन सफल भएको भन्दै नेता थापाले गत माघ–फागुन महिनामा सरकारले अक्सिजनको प्रबन्ध गर्न नसक्दा सयौं नेपाली नागरिकको ज्यान गएको बताए । ‘प्रधानमन्त्रीको हातमा हत्याको दाग लागेको छ’, उनले जिकिर गरे ।
उनले कोरोना महामारीका बेला औषधि किन्दा भ्रष्टाचार गर्ने, महँगो चार्टर्ड उडान गरेर कमिसन खाने यस्तो सरकार संसारमै कहीं नभएको दाबी पनि गरे ।
थापाले आउँदो एक–डेढ वर्ष नेपाली कांग्रेसले सरकार चलाउने अवसर पाउने विश्वास व्यक्त गर्दै तर त्यसका लागि अहिलेदेखि नै तयारी गर्नुपर्ने जनाए ।
‘कोभिड तनाव, प्रवासी नेपाली र वैदेशिक रोजगार’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौलाले मध्यपूर्व र मलेसियाका नेपाली श्रमिकहरुले कोभिडका कारण जागिर गुमाएको जनाउँदै श्रम सम्झौता सकिएर घर फर्कनै पर्ने अवस्थाका श्रमिकहरुलाई अन्तर्राष्ट्रिय उडान स्थगित हुँदा ठूलो समस्या व्यहोरिरहेको बताइन् । संग्रौलाले छुट्टीमा आएका श्रमिकहरु पनि सजिलै फर्कन नसक्ने अवस्थाले धेरैले रोजिरोटी गुमाउनु परेको जनाइन् ।
कन्सल्टेन्ट आयुर्वेदिक सर्जन डा मदन भण्डारीले कोभिडका कारण उत्पन्न तनाव व्यवस्थापनबारे प्रस्तुति दिए । कार्यक्रममा मध्यपूर्वस्थित विभिन्न जनसम्पर्क समितिका पदाधिकारीहरुले कोभिडका कारण नेपाली कामदारमा परेको असरबारे जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्