सरकारले जनातालाई दुष्चक्रमा फसाए : काँग्रेस वरिष्ठ नेता पौडेल



तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टको ‘क’भन्दा अधिनायकवादको ‘अ’ आपत्तिजनक रहेको बताएका छन् ।
तनहुँ जिल्लाका स्थानीय तह तथा अस्पताललाई स्वास्थ्य सामाग्री वितरण गर्न शनिबार दमौली आइपुगेका नेता पौडेलले प्रजातान्त्रिक समाजवादीहरुलाई अधिनायकवादको अत्यचारसँग आपत्ति रहेको बताए ।
नेता पोडेलले सरकारले जनातालाई दुष्चक्रमा फसाइएको आरोप लगाए । ‘जब जब मुलुकमा अधिनायकवाद हाबी हुन्छ त्यसको खिलाफमा विभिन्न पार्टीहरु मिलेर संयुक्त आन्दोलन गरी सफलता हात परेका छौं’, उनले भने, ‘केपी ओली जसरी अगाडि बढ्दै छन् । जसरी सर्वसत्तावाद, अधिनायकवादको घोडा चढेर देशलाई नै तबाह गर्दै छन् त्यसलाई नियन्त्रण गर्नका लागि यो परिवर्तन, लोकतन्त्र, जनताका पक्षधरहरुले मिलेर रोक्न आवश्यक छ ।’

प्रधानमन्त्रीले दुई दुई पटक संसद् विघटन गर्नु सामान्य कुरा नरहेको वरिष्ठ नेता पौडेलले बताए । ‘चुनाव गराउने उद्देश्यले संसद् विघटन गरिएको होइन, चुनाव स्वतन्त्र पनि हुँदैन’, उनले भने, ‘यो चुनावले जुन एजेन्डा उठाउन खोजिएको छ त्यसले ७० वर्ष लडेर ल्याएको परिवर्तन, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्रलाई उल्टाउनको लागि योजनाबद्ध ढंगले चुनावलाई प्रयोग गर्न लागिएको हो ।’
जिल्ला समन्वय समितिको संयोजनमा ११ थान अक्सिजन कन्सन्ट्रेटर, फेसमाक्स १३ हजार ४०, एन९५ माक्स एक हजार ३५०, पीपीई ४४० सेट, सेनिटाइजरलगायत गरी करिब ३५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री तनहुँका १० र लमजुङको एक स्थानीय तहहरुलाई नेता पौडेलले हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्