एक सातादेखि कर्णाली करिडोर अवरुद्ध



कालिकोट । पहिरोले कर्णाली करिडोर खुलालु–हुम्ला–सल्लीसल्ला सडक एकसातादेखि अवरुद्ध भएको छ । करिडोरको ठाउँठाउँमा भेल र पहिरोले सडक बगाएपछि सडक अवरुद्ध भएको हो ।
कालीकोटको जितेदेखि सान्नीगाड खण्डमा व्यवसायी आफैंले यात्रुबाहक जीप चल्ने लिग बनाएपनि मालबाहक गाडी चल्नसक्ने अवस्था छैन । यहाँको भौरेकुना, रेगिंल, कोट, आमतडालगायतका ठाउँमा पहिरो गएको छ । त्यस्तै भात्तडी–भुराबगर–जारकोट खण्ड र बाजुरा खण्ड अवरुद्ध छ ।
वर्षाले खोला बढेपछि नेपाली सेनाले निर्माण गरेको फूगाड बेलिब्रिज गत वर्षको पहिरोले बगाएपछि गाडी र यात्रुआवत जावत गर्न पनि कठिन छ । करिडोरको ठाउँ ठाउँमा पहिरो गएकाले पहिरो हटाउन मेसिन नहुँदा समस्या भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।
वर्षाले कालीकोटका सबैजसो ग्रामीण सडक अवरुद्ध भएका छन् । पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडक बेला बेलामा अवरुद्ध भए पनि सडक डिभिजन कार्यालय जुम्ला र खाडाचक्र नगरपालिकाले पहिरो हटाउँदै सुचारु गरिरहेको भए पनि स्थानीय तहले खनेका सडक अवरुद्ध छन् ।
वर्षाले थामकोट–बल्लेकाध हुँदै सालडाँडा जोड्ने सडक, शुभकालिकाको सेरिघाट–भर्ता र सुकाटिया जोड्ने सडक, नरहरिनाथको कोटवाडा कुमालगाउ सडक, सान्नी त्रिवेणीको सान्नीगाड–मेहेलमुडी, स्युना रास्कोट हुँदै मुम्रा सडक, आरसीपी बजार–फूकोट सडक, खाडाचक्रको पिली–पाखा सडक, तिलागुफाको बाली–छाप्रे, गाल्जे–जुविथालगायतका सडक पनि पहिरोले अवरुद्ध छ ।

प्रतिक्रिया दिनुहोस्