मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाऔ : नेपाल, सर्वोच्चको निर्णय नेपाली राजनीतिको रोचक परिदृश्य : बाबुराम



काठमाडौं । एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले केपी शर्मा ओलीले संसद् सरकार र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेकपा (एमाले) लाई तहसनहस गरेर गलत बाटो अंगाल्दा सिंगो देशसहित पार्टी र जनताले भोग्नुपरेको बताएका छन् । सर्वोच्च अदालतले २० मन्त्रीलाई पदमुक्त गर्ने आदेश जारी गरेपछि नेता नेपालले यस्तो टिप्पणी गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो लेखेका छन्, ‘संसदमा झण्डै दुई तिहाई बहुमतका साथमा बलियो सरकार बनेको थियो, जनचाहना अनुसार इतिहासमै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी नेकपा बनेको थियो । तर, संसद्, सरकार र पार्टी (नेकपा) साथै नेकपा(एमाले) लाई तहसनहस गरेर गलत बाटो अंगाल्दाको परिणाम सिंगो देश सहित पार्टी र जनताले भोग्दैछन्। सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तब्यमा पुर्याउँदैन र राम्रो परिणाम दिँदैन । हामीले गलत कार्यको खबरदारी गर्दै आएका थियौं र छौं । एकताबद्ध पार्टी र आन्दोलन बनाउन लागौं साथै नेपाल राष्ट्रको गरिमा ऊँचो राख्न तथा संविधान, गणतन्त्र र नेपाली जनताको हितको रक्षा गर्न सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र परिवर्तनकारी सकारात्मक शक्तिहरू एक हौं । मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाऔं !’


यस्तै, जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतले आज २० मन्त्रीलाई पदमुक्त गरेको फैसलाको स्वागत गरेका छन् । उनले संविधानका निर्मातामध्ये नै संविधानको शब्द र भावनाविपरित गएर स्वेच्छाचारी ढंगले मन्त्री बनाउने र बन्ने लज्जास्पद हर्कत गरिएको उल्लेख गर्दै भनेका छन्,‘संविधानको व्याख्यता अदालतले त्यसलाई उल्टाउनु नेपाली राजनीतिको रोचक परिदृश्य बन्ने नै भयो । क्षणिक निजी स्वार्थनिम्ति लम्पट बन्नेहरुको आँखा खुलोस् ।’
सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेका छन्,‘संविधानका निर्मातामध्ये नै संविधानको शब्द÷भावना विपरित गएर स्वेच्छाचारी ढंगले मन्त्री बनाउने÷बन्ने लज्जास्पद हर्कत गर्नु र संविधानको व्याख्याता सर्वोच्च अदालतले त्यसलाई उल्ट्याउनु नेपाली राजनीतिको रोचक परिदृश्य बन्ने नै भयो । क्षणिक निजी स्वार्थनिम्ति लम्पट बन्नेहरूको आँखा खुलोस् !’


अति भएपछि खति हुन्छ नै : नारायणकाजी
नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले २० मन्त्री पदमुक्त गर्ने सर्वोच्च अदालतको आजको आदेशको स्वागत गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो बताएका हुन् ।
उनले लेखेका छन्, ‘अति भए पछि खति हुन्छ नै।सर्बोच्च अदालतको पछिल्ला फैसलाहरुले प्रम ओलीले चालेका असंवैधानिक, अलोकतान्त्रिक एवं राष्ट्रिय हित प्रतिकुल निर्णयहरुलाई बदर गरिदिएको छ । संविधान र लोकतन्त्रको धज्जी उडाइएको स्थितिलाई अदालतले एक हदसम्म रोकेको छ । जबकि यो मुलतः राजनीतिको काम हो । सबैलाई चेतना होस् ।’

प्रतिक्रिया दिनुहोस्