इंग्ल्यान्ड समूह ‘डी’को विजेता, उपविजेता बन्दै क्रोएसिया पनि नकआउट चरणमा



एजेन्सी : इंग्ल्यान्ड समूह विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति समूह चरणको अन्तिम खेलमा चेक रिपब्लिकलाई १–० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड समूह विजेता बानीको हो । वेम्बली स्टेडियममा इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे । खेलको १२ औं मिनेटमा स्ट्रर्लिङले गोल गरेका हुन् ।

यस जितसँगै समूह ’डी’ को इंग्ल्यान्डले अपराजित रहदै अन्तिम १६ मा स्थान बनाएको छ । शीर्ष स्थानमा रहेको इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोड्यो । चेक रिपब्लिकले ३ खेलमा ४ अंक जोड्यो ।

चेक रिपब्लिक समूहको तेस्रो स्थानमा रह्यो । चेक रिपब्लिक पनि नकआउट चरणमा प्रवेश गरेको छ । उत्कृष्ट तेस्रो हुँदै चेक रिपब्लिक अन्तिम १६ मा पुगेको हो ।

क्रोएसिया पनि समूह उपविजेता बन्दै युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा मंगलबार राति स्कटल्याण्डमाथि ३–१ गोलको जित निकाल्दै क्रोएसिया समूह उपविजेता बनेको हो । क्रोएसियालाई जित दिलाउन निकोला भ्लासिच, लुका मोड्रिच र इभान पेरिसिचले एक एक गोल गरे ।

स्कटल्याण्डका कलुम म्याकग्रिगोरले एक गोल फर्काए । यस जितसँगै समूह ’डी’ को क्रोएसियाले ३ खेलमा ४ अंक जोड्यो । र, समूह उपविजेता बन्यो । स्कटल्याण्ड भने प्रतियोगिताबाट बाहिरिएको छ । स्कटल्याण्ड १ अंक जोडेर समूहको पुछारमा रह्यो ।

आज ४ खेल हुँदै

युरोकप फुटबलमा आज (मंगलबार) चार खेलहरु हुँदैछन् । युरोकपमा आज समूह चरणका अन्तिम चार खेलहरु हुने छन् । जसमा समूह ’ई’ र समूह ’एफ’ को २/२ खेलहरु हुनेछन् । जारी युरोकपमा १२ टिमले नकआउट चरणमा स्थान बनाइसकेको छ ।

समूह ’ई’ मा रहेको स्पेनले आज राति स्लोभाकियासँग प्रतिस्पर्धा गर्नेछ । सेभियामा हुने स्पेन र स्लोभाकियाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । यसै समूहको अर्को खेलमा स्विडेन र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

समूह ’एफ’ अन्तर्गत पोर्चुगलले फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । साविक विजेता पोर्चुगल र फ्रान्सबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । यसै समूहको अर्को खेलमा जर्मनीले हंगेरीसँग खेल्नेछ । जर्मनी र हंगेरीबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्