समूह चरणको खेल सकिएसँगै नकआउट चरणमा पुग्ने १६ टोलीको लाग्यो टुंगो  



एजेन्सी : १६ औं संस्करणको युरोकप फुटबलको समूह चरणको खेलहरु सकिएको छ । बुधबार राति भएको अन्तिम चार खेलसँगै युरोकपको समूह चरणको खेल सकिएको हो ।

समूह चरणको अन्तिम खेलमा फ्रान्स समूह विजेता बन्दै युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । हंगेरीको बुडापेस्टमा बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग २–२ गोलको बराबरी खेल्दै फ्रान्स समूह विजेता बनेको हो ।
हंगेरीको पुस्कास एरिनामा फ्रान्सका लागि करिम बेन्जिमाले दुई गोल गरे । पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे ।

यससँगै रोनाल्डोले पोर्चुगलका लागि १ सय ९ औं अन्तराष्ट्रिय गोल पूरा गरे । उनले सर्वाधिक धेरै अन्तराष्ट्रिय गोल गर्ने इरानका अलि दाइको कीर्तिमानसँग बराबरी समेत गरेका छन् । यस्तै रोनाल्डोले जर्मनीका लिजेण्ड मिरोस्लाभ क्लोजको कीर्तिमान समेत भङ्ग गरेका छन् । रोनाल्डोले क्लोजको नाममा रहेको दुई ठुला प्रतियोगिता विश्वकप र युरोकपमा संयुक्त सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान भङ्ग गरेका हुन् ।

फ्रान्सविरुद्धको दुई गोलसँगै रोनाल्डोले विश्वकप र यूरोपकमा गरि संयुक्त २१ औं गोल पूरा गरे । ३६ वर्षीय रोनाल्डोले युरोकपमा १४ र विश्वकपमा ७ गोल गरेका छन् । यस अघि विश्वकप र युरोमा संयुक्त १९ गोल गर्दै क्लोजले कीर्तिमान बनाएका थिए ।

यस बराबरीसँगै समूह ’एफ’ मा रहेको फ्रान्सले ३ खेलमा ५ अंक जोड्यो । र, शीर्ष स्थानमा रहदै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।
फ्रान्ससँगको बराबरीसँगै पोर्चुगलले ३ खेलमा ४ अंक जोड्यो । पोर्चुगल समूहको तेस्रो स्थानमा रह्यो । पोर्चुगल समूहको उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट चरणमा पुगेको हो ।

यसै समूहअन्तर्गत बुधबार राति नै भएको खेलपछि जर्मनी समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । एलिनाज स्टेडियममा भएको समूह चरणको अन्तिम खेलमा हंगेरीसँग २–२ गोलको बराबरी खेल्दै जर्मनी समूह उपविजेता बनेको हो ।

रोमान्चक बनेको खेलमा सुरुवाती अग्रता भने हंगेरीले बनाएको थियो । खेलको ११ औं मिनेटमा कप्तान एडम सज्लाईले गोल गर्दै हंगेरीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ६६ औं मिनेटमा काइ हाभर्टेजले गोल गर्दै जर्मनीलाई १–१ गोलको बराबरीमा फर्काए । लगत्तै ६८ औं मिनेटमा आन्द्रेस सेफेरले गोल गर्दै हंगेरीलाई २–१ को अग्रता दिलाए । तर, खेलको ८४ औं मिनेटमा लियोन गोर्टेज्काले गोल गर्दै जर्मनीलाई २–२ को बराबरीमा फर्काउदै हारबाट जोगाए ।

यस बराबरीसँगै समूह ’एफ’ को उपविजेता बनेको जर्मनी ३ खेलमा ५ अंक जोड्यो । यस अघि समूह चरणको पहिलो खेलमा फ्रान्ससँग १–० ले पराजित जर्मनीले दोस्रो खेलमा पोर्चुगललाई ४–२ गोल अन्तरले पराजित गरेको थियो । अब जर्मनीले अन्तिम १६ मा इंग्ल्यान्डसँग खेल्ने छ । हंगेरी भने समूह चरणबाट बाहिरिएको छ । हंगेरीले ३ खेलमा २ अंक जोड्यो । पहिलो खेलमा पोर्चुगलसँग ३–० ले पराजित हंगेरीले दोस्रो खेलमा फ्रान्ससँग १–१ गोलको बराबरी खेलेको थियो ।

यता, स्पेन समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । सेभियामा बुधबार राति भएको खेलमा स्लोभाकियालाई ५–० गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम १६ मा प्रवेश गरेको हो । स्पेनलाई जित दिलाउन एम्रिक लापोर्ट,पाब्लो सराबिया र फेरान टोरेसले एक एक गोल गरे । स्पेनले दुई गोल आत्मघाती उपहार पाएको थियो ।

यससँगै समूह ’ई’ मा रहेको स्पेनले पहिलो जित समेत निकालेको छ । स्पेनले ३ खेलमा ५ अंक जोड्यो र समूहको दोस्रो स्थान हासिल गर्दै नकआउट चरणमा स्थान बनाउन सफल भयो । स्लोभाकियाले ३ खेलमा ३ अंक जोड्यो । स्लोभाकिया समूहको तेस्रो स्थानमा रह्यो । स्पेनसँगको फराकिलो हारसँगै स्लोभाकिया समूह चरणबाटै बाहिरिएको छ ।

यही समूहमा बुधबार राति नै भएको अर्को खेलमा स्विडेन समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा पोल्याण्डलाई ३–२ गोल अन्तरले पराजित गर्दै स्विडेन समूह विजेता बनेको हो । रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा स्विडेनलाई जित दिलाउन इमिल फोर्सवर्गले दुई गोल गरे । भिक्टर क्लेसनको नाममा एक गोल रह्यो ।

पोल्याण्डका रोबर्ट लेवान्डोस्कीले दुई गोल फर्काए । यस जितसँगै समूह ’ई’ को स्विडेनले ३ खेलमा ७ अंक जोड्यो । र, समूहको शीर्ष स्थानमा रह्यो । पोल्याण्डले ३ खेलमा १ अंक जोड्यो । पोल्याण्ड समूह चरणबाटै बाहिरिएको छ ।

अन्तिम १६ मा कुन कुन टिम भिड्दै ?

समूह चरणको खेल सकिएसँगै प्रतियोगिताको नकआउट चरणमा पुग्ने टोलीको समेत टुंगो लागेको छ । नकआउट चरणमा १६ टिमले स्थान बनाएका छन् । ६ समूहको शीर्ष दुई र समूहको तेस्रो स्थानमा प्राप्त गर्ने मध्येको उत्कृष्ट चार टिमले अन्तिम १६ को यात्रा तय गरेका हुन् ।

यस पटक साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, इटाली, जर्मनी, वेल्स, डेनमार्क,अष्ट्रिया, नेदरल्यान्ड्स, चेक रिपब्लिक, बेल्जियम, क्रोएसिया, स्पेन, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, युक्रेन र स्विडेनले नकआउट चरणमा स्थान बनाएका छन् । नकआउट चरणको खेलहरु शनिबारबाट सुरु हुनेछ ।

अन्तिम १६ का प्रतिद्वन्दी

वेल्स विरुद्ध डेनमार्क

इटाली विरुद्ध अष्ट्रिया

नेदरल्यान्ड्स विरुद्ध चेक रिपब्लिक

बेल्जियम विरुद्ध पोर्चुगल

क्रोएसिया विरुद्ध स्पेन

फ्रान्स विरुद्ध स्विट्जरल्यान्ड

इंग्ल्यान्ड विरुद्ध जर्मनी

स्विडेन विरुद्ध युक्रेन

प्रतिक्रिया दिनुहोस्