पशुपति क्षेत्रका सबै खाली ठाउँमा गुर्जो रोपिँदै



काठमाडौँ : पशुपति क्षेत्रमा रहेको खाली स्थानमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न सहयोग गर्ने वनस्पति गुर्जो रोपण अभियानलाई तीव्र बनाइएको छ । यस वर्ष गत शनिबारदेखि पशुपति क्षेत्रमा गुर्जो रोपण अभियान शुरु भएको हो ।

गत वर्ष रोपिएका गुर्जोका बिरुवामध्ये एक हजार ५०० हुर्किएको अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिए। यस वर्ष पनि शनिबार र बुधबार गरी ६०० बिरुवा पशुपति क्षेत्र किवास कोषको कार्यालय परिसरलगायत स्थानमा रोपिएको उनले बताए । आगामी शनिबार पनि पशुपति क्षेत्रका खाली स्थानमा गुर्जो रोपिने जनाइएको छ ।

पशुपति क्षेत्रका वनकाली, कैलाशडाँडा, मृगस्थली, गुह्येश्वरी, ध्रुवस्थली, भण्डारखाल, सिफललगायत स्थानमा गुर्जो रोपण गर्न लागिएको हो। गुर्जो रोपणमा अभियानकर्मी राजलवट, पूर्वसहसचिव एवं योग शिक्षक किशोर जोशीलगायत कोषका पदाधिकारी एवं कर्मचारी सक्रिय हुँदै आएका छन्।

विसं २०७६ चैतमा कोरोना महामारी फैलिएर बच्न बन्दाबन्दी जारी गरिएदेखि नै गुर्जोका बिरुवा रोपण अभियानमा लागेका राजलवटले यस वर्ष पनि अभियानलाई निरन्तरता दिएका हुन्। यस वर्ष वर्षाद शुरु भएसँगै चार हजार बिरुवा आफैँ उपस्थित भएर रोपिएको उनको भनाइ छ। गत वर्ष उहाँले एक लाख ६० हजार गुर्जोका बिरुवा देशभर निःशुल्क वितरण गरेका थिए।

गुर्जोलगायत वनस्पतिबाट बनेका चिया र धुलोको माग कोरोना बढेका बेला अत्यधिक हुने गरेको छ । शरीरमा रोग प्रतिरोधी क्षमता विकास गरी कोरोना हटाउन यसले मद्दत गरेको अधिकांश सेवनकर्ताको अनुभव छ। अनुभवका आधारमा गुर्जोलगायत जडिबुटीबाट बनेका चिया र धुलोको माग पनि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्