सन्तोषी सुब्बा हत्या आरोपमा एक युवक पक्राउ



काठमाडौं : दक्षिणकालीमा मंगलबार बिहान मृतावस्थामा भेटिएकी महिला सन्तोषी सुब्बाको हत्या अभियोगमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक स्थायी ठेगाना भएका अभियुक्त सुरेश तिमल्सिनालाई बिहीबार प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । उनी दक्षिणकालीस्थित वर्कशपमा कार्यरत रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ । पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी सुब्बाको रहेको बुधबार प्रहरीले पुष्टि गरेको थियो । प्रहरीले मंगलबार दक्षिणकालीको शौचालयबाट महिलाको शव बरामद गरेको थियो । टाउकोमा गह्रुँगो वस्तुले हिर्काएको र अनुहार क्षतविक्षत भएको अवस्थामा दक्षिणकालीको ट्वाइलेटभित्र प्रहरीले शव बरामद भएको थियो ।

प्रहरीका एक अधिकारीका अनुसार तिमल्सिनाले सुरुमा बलात्कार प्रयास गरेको र सुब्बाले प्रतिकार गरेपछि हत्या गरेको पाइएको छ । ‘उनले सुरुमा घाँटी थिचेर ज्यान लिएको र पछि नचिनियोस् भनेर अनुहार क्षतविक्षत हुने गरी प्रहार गरेको पाइयो,’ ती अधिकारीले भने । घटनालगत्तै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञसहितको टोलीले जाँच गर्नुका साथै तालिम प्राप्त विशेषज्ञ कुकुरबाट पनि घटनास्थलको अवलोकन गराई प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

प्रतिक्रिया दिनुहोस्