‘राष्ट्रपतिले कसरी देखे नेपाल खनालको दोहोरो हस्ताक्षर ?’



काठमाडौं : वरिष्ठ अधिवक्ता हरिहर दाहालले केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्तिका लागि नेकपा एमालेकै सांसदहरू झलनाथ खनाल र माधवकुमार नेपालले हस्ताक्षर नगरेको तर्क गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्ति सम्बन्धी ओली र कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको दाबीमा सांसदको दोहोरो हस्ताक्षर भएकाले कसैको पनि दाबी नपुग्ने निर्णय गर्नु गलत भएको उनले बताए । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि संवैधानिक इजलासमा बहस गर्दै उनले भने–‘एमालेका सांसद झलनाथ खनाल, माधवकुमार नेपालहरुले केपी ओलीलाई प्रधानमन्त्री बनाउन कहाँ हस्ताक्षर गरेका छन् ? बरु देउवालाई समर्थन गर्दै हस्ताक्षर गरेका छन् । एकोहोरो देउवाको पक्षमा हस्ताक्षर छ, दोहोरो कसरी भयो ?’ ‘सांसदहरू आफैं उपस्थित भएर राष्ट्रपतिलाई भेट्न खोज्दा ढोकामै रोकेर भेट्न नदिने बदनियत देखिएको उनले बताए ।

दाहालले प्रधानमन्त्री नियुक्तिको दाबीमा देउवाको एकोहोरो दाबी पुग्ने भएकाले प्रधानमन्त्री नियुक्तिको आदेश दिन माग गरे । ‘धारा ७६(५) लाई जसरी ब्रह्मास्त्र बनाउन खोजियो, त्यो संसदको रक्षा कवच हो । सरकार नबनेर विघटन गर्न नसकियोस् भनेर ७६(५) राखिएको हो, यहाँ प्रतिनिधि सभा सदस्य स्वतन्त्र हुन्छन्, दलीय ह्वीप लाग्दैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्