विपक्षी पाँच दल ओलीविरुद्ध जनपरिचालनमा जान सक्ने



काठमाडौँ : विपक्षी गठबन्धनमा आबद्ध पाँच राजनीतिक दलले प्रधानमन्त्री केपी शर्मा ओलीका गतिविधि स्वेच्छाचारी, अलोकतान्त्रिक र संविधानविपरीत रहेको भन्दै त्यसविरुद्ध आवश्यक परे जनपरिचालनमा जाने बताएका छन् ।

विपक्षी गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह तथा राष्ट्रिय जनमोर्चाले आन्दोलनबाट प्राप्त उपलब्धि र देशको राष्ट्रियताको रक्षाका लागि आवश्यक परे जनपरिचालनसम्म जानुपर्ने अवस्था रहेको बताएको हो ।

विपक्षी गठबन्धनमा आबद्ध शीर्ष नेताले बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सम्पादकहरूसँगको अन्तक्रिर्यामा प्रधानमन्त्री ओलीका निरंकुश कदमविरुद्ध र प्राप्त उपलब्धिको रक्षाका लागि दीर्घकालीन र सैद्धान्तिक आधारसहित गठबन्धन बनाइएको समेत बताए ।

अन्तरक्रियालाई सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले लामो र कठोर संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्न आवश्यक परे जनपरिचालनको दिशातर्फ अघि बढ्ने उद्घोष गरे ।

‘संविधान सभाले निर्माण गरी जारी नेपालको संविधान प्रधानमन्त्री केपी ओलीको शासकीय अहंकार र स्वेच्छाचारी निर्णय र कामका कारण संकटमा छ,’ देउवाले भने, ‘प्राप्त उपलब्धिको रक्षा गर्ने संकल्पका साथ हामीहरू राजनीतिक र कानुनी संघर्षका विविध कार्यक्रमका साथ क्रियाशील छौं, आवश्यक परे जनपरिचालनको दिशातर्फसमेत अगाडि बढ्नेछौं ।’

यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्