कोपा अमेरिका फुटबल : उरुग्वे क्वाटरफाइनलमा



एजेन्सी : उरुग्वे कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार बिहान भएको खेलमा बोलिभियालाई २–० गोल अन्तरले पराजित गर्दै उरुग्वे क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

उरुग्वेको जितमा एडिन्सन काभानीले एक गोल गरे । एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको ४० औं मिनेटमा बोलिभियाका कार्लोस लाम्पेको आत्मघाती गोलबाट उरुग्वेले सुरुवाती अग्रता बनाएको थियो । त्यसपछि खेलको ७९ औं मिनेटमा काभानीले गोल गर्दै उरुग्वेलाई २–० को जित दिलाए ।

यस जितसँगै उरुग्वेले ३ खेलमा ४ अंक जोडेको छ । समूह ’ए’ को उरुग्वे चौंथो स्थानमा रहेको छ । बोलिभिया अंक विहीन रहदै पुछारमा रहेको छ । बोलिभिया प्रतियोगिताबाट समेत बाहिरिएको छ ।

अर्को खेलमा पाराग्वेले चिलीलाई पराजित गरेको छ । बिहान भएको खेलमा पाराग्वेले चिलीलाई २–० गोल अन्तरले पराजित गरेको हो । पाराग्वेलाई जित दिलाउन सामु र मिगुएल अल्मिरोनले एक एक गोल गरे ।

खेलको ३३ औं मिनेटमा सामुले गोल गर्दै पाराग्वेलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले मिगुएलको पासमा गोल गरेका हुन् । त्यसपछि खेलको ५८ औं मिनेटमा मिगुएलले पेनाल्टीमा गोल गर्दै पाराग्वेलाई २–० को जित दिलाए ।

यस जितसँगै समूह ’ए’ को पाराग्वेले ३ खेलमा ६ अंक जोडेको छ । पाराग्वे समूहको दोस्रो स्थानमा उक्लिएको छ । चिलीलाई हराएसँगै पाराग्वे क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

चिलीले ४ खेलमा ५ अंक जोडेको छ । तेस्रो स्थानको चिलीले यस अघि नै क्वाटरफाइनलमा स्थान बनाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्