पौडेल पक्षको भेला आज, सभापतिको उम्मेदवारबारे छलफल हुने



काठमाडौँ : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा आफू पक्षीय नेताहरु छलफल गर्दै छन् । शुक्रबार (आज) दिउँसो २ बसुन्धरास्थित दियालो फुडल्याण्डमा पौडेल पक्षीय केन्द्रीय सदस्यहरुको बैठक बस्न लागेको हो ।

गत शनिबार यता सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले सभापतिको दाबेदारी प्रस्तुत गर्दै सक्रियता बढाएपछि पौडेलले पनि बैठक बोलाएका छन् । विपक्षी गठबन्धनका शीर्ष नेता र सम्पादकसँगको अन्तक्रियाका कारण विहीबार बस्ने भनिएको बैठक आज बस्न लागेको हो ।

उनीहरुको सक्रियतापछि पौडेल पक्षमा पनि १४ औं महाधिवेशनको नेतृत्वको विषय टुंगो लगाउन बैठक राख्न पौडेललाई नेताहरुले दबाब दिएका थिए । पौडेल पक्षमा आधा दर्जन नेता सभापतिको आकांक्षी देखिएको छ ।

वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह, शेखर कोइराला, सुजाता कोइराला, कल्याण गुरुङले सभापति उठ्ने बताइरहेका छन् । देउवाले आफूनिकट सातै प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गरी सभापतिमा दोहोरिने बताइसकेका छन् । निधिले पनि संस्थापन इत्तर पक्षका नेताहरुसँग सोमबार छलफल गरी सभापतिमा सहयोग मागेका थिए ।

गत विहीबार शुक्रबार बसेको केन्द्रीय समिति बैठकले आगामी भदौँ १६–१९ गतेका लागि महाधिवेशनको मिति संशोधन गरेपछि काँग्रेसमा सभापतिका दाबेदारको सक्रियता बढेको छ ।

प्रतिक्रिया दिनुहोस्