महाधिवेशनबारे निधि, कोइराला र सिंहबीच पुनः छलफल



काठमाडौँ । नेपाली काँग्रेसका दोस्रो तहका तीन नेताबीच आगामी १४औँ महाधिवेशनबारे पुनः छलफल भएको छ । उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहकाबीच महामन्त्री कोइरालाको निवास महाराजगन्जमा महाधिवेशनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको हो ।
महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले आसन्न महाधिवेशन, सरकारका गतिविधि, आगामी निर्वाचन लगायतका विषयमा नेता त्रयबीचमा छलफल भएको जानकारी दिए । उनकाअनुसार महाधिवेशनमा प्रतिस्पर्धा भए पनि कसरी एकताको महाधिवेशन बनाउने र नेताहरूबीच सद्भाव कायम राख्ने भन्ने विषयमा छलफल भएको छ ।
यसअघि उपसभापति निधिको घरमा गत सोमबार नेता त्रयबीच छलफल भएको थियो । सो छलफलमा आफ्ना अग्रजको पार्टी प्रतिको योगदानलाई स्मरण गरेर सहमतिका साथ अघि बढ्ने सहमति भएको थियो ।
सोही बैठकमा जुटेको सहमति अनुसार नेतात्रयबीच महामन्त्री कोइरालाको निवासमा छलफल भएको हो । यसपछिको छलफल पूर्व महामन्त्री सिंहको चाक्सीबारीस्थित निवासमा हुने तिवारीले जानकारी दिए ।
निधि काँग्रेसका संस्थापक नेता महेन्द्रनारायण निधिका पुत्र हुन् भने कोइराला बिपी पत्र हुन् । यस्तै सिंह गणेशमान सिंहका पुत्र हुन् । यी तीनै नेताले आगामी महाधिवेशनमा पार्टी नेतृत्वका लागि इच्छा देखाउँदै आइरहेका छन् ।
निधिले संस्थापन समूहलाई नै नेतृत्वमा आफ्नो दाबी हुने भन्दै चुनौती दिँदै आइरहेका छन् । संस्थापनबाट सभापति शेरबहादुर देउवाले पनि नेतृत्वमा दाबी गर्दै आइरहेका छन् ।
यसअघि निधिले नेतृत्व परिवर्तनका पक्षमा रहेका काँग्रेसका ९ जना युवा नेतासँग पनि छलफल गरेका थिए । युवा नेताहरूले पार्टीमा रूपान्तरण र पुस्तान्तरणको एजेन्डामा साथ दिने भन्दै आकांक्षीहरूबीच संवाद गर्न निधिलाई सुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्