अदालतलाई राजनीतिक विवाद निरुपण गर्ने थलो बनाइयो : प्रधानमन्त्री ओली



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले राष्ट्रपतिको आलोचना गर्ने प्रतिस्पर्धा भइरहेको बताएका छन् ।
पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली मन्त्री पदमा रहँदा विभिन्न सार्वजनिक कार्यक्रममा दिएका मन्तव्यहरूको संकलन समेटिएको पुस्तकको शुक्रबार विमोचन गर्दै एमाले अध्यक्ष पनि रहेको प्रधानमन्त्री ओलीले विपक्षी नेताहरू बीच राष्ट्रपतिलाई चिथोर्ने प्रतिस्पर्धा चलिरहेकोे आरोप लगाए ।
प्रधानमन्त्री ओलीले भने बिहीबार विपक्षी गठबन्धनमा रहेका पूर्वप्रधानमन्त्री लगायतका नेताहरूले पत्रकार सम्मेलनमा दिएका अभिव्यक्तितर्फ लक्षित गर्दै राष्ट्रपतिलाई गाली भइरहेको टिप्पणी गरे ।
बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले भने, ‘मैले एकपल्ट भनेको थिएँ रिसाएको बिरालोले खाँबो चिथोर्छ । राष्ट्रपतिलाई चिथोर्ने प्रतिस्पर्धा चलेको छ ।’
संविधानले दिएको अधिकारअनुसार नै राष्ट्रपति चलिरहेको दाबी गर्दै प्रधानमन्त्री ओलीले थपे, ‘हिजो पनि केही भूतपूर्वहरूको लस्करले मिट द प्रेस गरेको देखेथेँ । त्यसमा पनि राष्ट्रपतिभन्दा राजा राम्रो भन्नेसम्म उहाँहरू पुग्नुभयो । कतिबेर के बोल्ने र लोकतन्त्रका दुहाइ दिने ? राष्ट्रपतिलाई हामीले जे अधिकार दिएका थियौं राष्ट्रपति त्यसमा सीमित हुनुहुन्छ, त्यसमा सीमित हुनुपर्छ ।’
प्रधानमन्त्री ओलीले अदालतलाई राजनीतिक विवादको निरुपण गर्ने थलो बनाउन खोजेको पनि बताए । ओलीले भने, ‘राजनीतिलाई जनतामा पनि जान नदिने, संसदमा पनि राजनीतिको टुंगो नगर्ने र राजनीति अन्तै लगेर टुंगो गर्ने ? राजनीतिक फैसला, प्रधानमन्त्री छान्ने ठाउँ पनि अदालतलाई बनाउन खोजिएको छ । राजनीतिक विषयहरूको टुंगो राजनीतिक संस्थाहरूले वा राजनीतिक पार्टीहरूले लगाउनुपर्ने ठाउँमा अदालतबाट राजनीतिको फैसला खोजिदैँछ । अदालतले त संविधान र कानुनको कुरा गर्ने हो, राजनीतिको होइन ।’
राजनीतिक निर्णयहरू राजनीतिक संस्थाहरूले नै गर्नुपर्ने ओलीको भनाइ छ । उनले मन्त्रीहरू हटाउने निर्णयमा सेटिङ भएको आशंका पनि व्यक्त गरे ।
‘मन्त्रीहरू सबै हटाइदिएर प्रधानमन्त्रीलाई काम गर्न अप्ठ्यारो भयो खुच्चिङ प¥यो भन्ने होला,’ ओलीले भने, ‘कसैले अघिल्लै दिन घोषणा गरेका थिए । कसरी गरे त्यो पनि एउटा गजबको छ । धादिङमा अघिल्लै दिन भने पछि नियुक्त गरिएका मन्त्रीहरू भोलि अदालतले हटाउँदैछ भन्ने सूचना मैले पाएको छु । अथवा न्याय निष्पक्ष निरुपण भयो कि अरु नै हिसाबले ? एउटा हल्ला छ नि सेटिङ भन्ने ।’
प्रधानमन्त्री ओलीले प्रणाली जोगाउनका लागि सबैले लाग्नुपर्ने बताए । उनले प्रणालीलाई कार्यान्वयनमा लग्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्