कार्यकर्ता छल्न राजपामा दुई थरी विधान



काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्यहरूले आफ्ना कार्यकर्ता छल्न पार्टीको विधान नै दुईथरी बनाएका छन् । पार्टीको आधिकारिक विधान निर्वाचन आयोगमा बुझाएका छन् भने कार्यकर्तालाई बाँड्न छापिएको विधानमा आधिकारिक विधानका केही बुँदा हटाइएका छन् ।

कार्यकर्तालाई बाँड्न छापिएको विधानमा कायकर्ताको चाहनालाई सम्बोधन गरिएको छ भने निर्वाचन आयोगमा बुझाइएको आधिकारिक विधानमा अध्यक्षमण्डलका सदस्यको चाहनालाई सम्बोधन गरिएको छ । निर्वाचन आयोगमा बुझाइएको विधानमा प्रष्टसँग महाधिवेशनपछि पनि अध्यक्षमण्डल रहने छ भनी राखिएको छ ।

विधानको धारा ३१ को दफा १२ मा प्रष्टसँग भनिएको छ, ‘अध्यक्षमण्डलको व्यवस्था आउँदो महाधिवेशनपछि समेत रहने छ ।’ सो प्रावधानले महाधिवेशन पछि राजपामा अध्यक्षमण्डल रहने देखिएको छ ।

तर कार्यकर्तालाई बाँड्न छापिएको विधनमा सो बुँदा हटाइएको छ । महाधिवेशनपछि पनि अध्यक्षमण्डल कायम रहने छ भन्ने बुँदा हटाएर कार्यकर्ताहरूलाई विधान बाँडिएको छ ।

पार्टीका नेता तथा राष्ट्रियसभा सदस्य बिर्खेशचन्द्र लालले निर्वाचन आयोगमा बुझाइएको विधानका केही बुँदा हटाएर कार्यकर्तालाई बाँड्न अर्को विधान बनाइएको भन्दै अध्यक्षमण्डलको सो निर्णयप्रति आक्रोश पोखे । उनले भने,‘कायकर्ता छल्न महाधिवेशनपछि अध्यक्षमण्डल रहने छ भनी बुँदा हटाएर विधान छपाइएको छ । जुन हामीलाई मान्य हुने छैन ।’ यस विषयमा आफूले अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरलाई भेटी ध्यानाकर्षण गराएको पनि जनाए ।

अध्यक्षमण्डलका सदस्यहरूले गत असोजमा विधान संशोधन गरी संशोधित विधान निर्वाचन आयोगमा बुझाएका थिए । राजपाको विधानमा विधान संशोधन गर्ने अधिकार अध्यक्षमण्डललाई दिइएको छ । अध्यक्षमण्डलले सो अधिकार प्रयोग गरी हालसम्म दुईपटक विधान संशोधन गरिसकेका छन् ।

पहिलोपटक पार्टीको महाधिवेशनको तिथि सार्न विधान संशोधन गरेका थिए । दोस्रोपटक महाधिवेशनपछि पनि अध्यक्षमण्डल कायम राख्न विधान संशोधन गरेका हुन् । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्