बाजाढुंगा, जहाँका ढु्ंगा बाजा जस्तै बज्छन् (फोटो फिचरसहित)



शर्मा म्याग्दी :  ढुंगाका चुचुराको बनावट पञ्चैबाजाका जस्ता आकृति छन्। अग्लो पहाडको टुप्पोमा गुफाभित्रका यी आकृतिको आवाज पनि बाजाको जस्तै आउँछ। अन्नपूर्ण गाउँपालिका–३ दानास्थित काभ्रे गाउँ र रुप्से झरनाको शिरमा रहेको बाजा ढुंगाले त्यहाँ पुग्ने जो कसैलाई ढुंगाबाट बाजा बज्छ भनेर विश्वास गर्न बाध्य पार्छन्।

बेनी–जोमसोम सडकखण्डअन्र्तगत म्याग्दीको अन्तिम बस्ती काभ्रे गाउँ हुँदै अहिले बाजा ढुंगा पुग्नेहरू आश्चर्यमा पर्ने गरेका छन्। पहाडको टुप्पामा रहेको ढुंगामा स–साना चुचुरा बजाउँदा दुरुस्तै नौमति बाजाको जस्तै आवाज निस्कन्छ।

ढुंगामा दमाहा, ढोलक र ट्याम्कुलीको आकृति देखिने चुचुरोमा आकृतिअनुसारकै आवाज निस्कँदा अचम्भित भएको पहिलो पटक बाजा ढुंगा हेर्न गएका बेनीका गोरखनाथ सुवेदीले बताए। ‘ढुंगाको बाजा बज्छ भनेको सुन्दा कस्तो होला भन्ने लागेको थियो, तर साँच्चिकै दुरुस्तै सुनियो। यसको प्रचारप्रसार गर्न सके यहाँ पर्यटकको ओइरो लाग्ने सम्भावना छ’, उनले भने।

यो ढुंगा भएको ठाउँमा पुग्न बेनी–जोमसोम सडकखण्डको काभ्रे गाउँदेखि करिब पौने एक घण्टा पैदल यात्रा गर्नुपर्छ। छङछङ गर्दैै बग्ने रुप्से झरनाको शिरमा रहेको बाजा ढुङ्गाबाट चिटिक्क मिलेको काभ्रे गाउँ, अन्नपूर्ण शृंखलाका हिमालसमेत अवलोकन गर्न सकिने भएकाले यस क्षेत्रलाई पर्यटकीय स्थलमा विकास गर्नुपर्ने स्थानीय रिता बरुवालले बताइन् ।

‘बाजा बज्ने ढुंगा खोज्दै कहिलेकाहीं पर्यटक आउने गर्छन्, थोरैलाई मात्र यस ढुंगाको आश्चर्यबारे जानकारी छ। यहाँसम्म पुग्ने सहज पदमार्ग र प्रचारप्रसार गर्न सके पर्यटक बढाउन सकिने हाम्रो विश्वास छ’, उनले भनिन्। उनका अनुसार खडेरी परेर पानी नपरेका बेला स्थानीयले पूजा गरी ढुंगाको बाजा बजाएर पानी डाक्ने चलनसमेत छ।

ढुंगेबाजा बजाउँदा पानी पर्ने मान्यताले वर्षात्का समयमा स्थानीयले ढुंगाको बाजा बजाउँदैनन्। बाजा ढुंगामा जाने पर्यटक यसको अलौकिकता र संगीतबाट अचम्भित हुने गरेका छन् भने प्राकृतिक भ्युटावरका रूपमा रहेको यो ढुंगाको टुप्पामा पुगेर प्राकृतिक भूबनोटलाई अवलोकनमा समेत रमाउने गर्छन्।

ढुंगाका बाजा बजाउन जानेका लागि अहिले गाउँदेखिमाथि जंगलसम्म सहज हिँडडुल गर्ने बाटो भए पनि बाजा बज्ने भीरमा साँघुरो डोरोमा हिँड्नुपर्छ। ढुंगाको नजिक भएर रुप्से झरना बग्ने र संसारको गहिरो अन्धगल्छीसमेत रहेकाले यो क्षेत्रका पर्यटकीय स्थलको एकीकृत विकासमा जुटेको वडा सदस्य हस्तबहादुर पुनले बताए। उनले यस क्षेत्रका सबै पर्यटकीय स्थल जोड्न र प्रचारप्रसारमा वडा कार्यालयले जोड दिएको बताउँदै आवश्यक पूर्वाधार निर्माणको पहल भैरहेको बताए।

संरक्षण अभावले बाजा ढुंगा संकटमा

नौमती बाजाको आकारका चुचुरा बजाउँदा बाजाको आकार अनुसारकै आवाज निस्कने बाजा ढुंगा संकटमा परेको छ। ढुंगाको अवलोकनमा जाने स्थानीय र पर्यटकले समेत जोडले आवाज निस्कने ठाउँमा बाजा बजाउँदा बाजाका आकृति मेटिँदै जान थालेका छन्। पहिले सबै ढ्ंगा बाजाको वास्तविक आकारमा भए पनि अहिले बजाउँदै जाँदा सबै आकृति भाँचिन थालेका हुन्।

दमाहा, ढोलक र ट्याम्कुलीको आकृति देखिने भए पनि अन्य बाजाका आकृति भाँचिएको स्थानीयको भनाइ छ। बाजाढुंगाको संरक्षण र पर्यटन पूर्वाधार निर्माण गर्न स्थानीयले निरन्तर माग गरे पनि कुनै निकायले नसुनेको स्थानीय अगुवा सुनबहादुर विश्वकर्माले बताए। समयमै नौमती बाजाढुंगाको संरक्षण नगर्ने र जथाभावी बजाउँदै गए कुनै समय यसको अवशेषसमेत मेटिने भएकाले सम्बन्धित सरोकारवालाले चासो दिनुपर्ने स्थानीय बताउँछन्।

‘लुकेको हिरा’

बेनी–जोमसोम सडकखण्डअन्तर्गत पर्ने काभ्रे गाउँ ‘लुकेको हिरा’ उपनामबाट प्रख्यात छ। बर्सेनि यो गाउँ हुँदै हजारौं पर्यटक ओहोरदोहोर गर्ने भए पनि यस क्षेत्रका पर्यटकीय स्थलको एकीकृत विकास र प्रचारप्रसार नहुँदा पर्यटनबाट लाभ लिन सकिरहेको छैन। धवलागिरि र अन्नपूर्ण हिमालको टुप्पोबाट नापिएको संसारकै गहिरो खोंच ‘अन्धगल्छी’, मनमोहक रुप्से झरना र बाजा बज्ने ढुंगा नजिकै छन्।

रुप्से झरना र अन्ध गल्छीमा सामान्य पर्यटन पूर्वाधार बने पनि बाजाढुंगा भने सरोकारवालाको नजरमा पर्न सकेको छैन। तीन वटै पर्यटकीय स्थललाई एकीकृत रूपमा पर्यटन पूर्वाधार र प्रचारप्रसारसँगै काभ्रेमा घरबास (होमस्टे) सञ्चालन गर्न सके यस क्षेत्रले पर्यटनबाट विकास गरी मुहार फेर्न सक्ने सम्भावना रहेको स्थानीय अगुवा विश्वकर्माले बताए।

मान्यता यस्तो छ।

प्राकृतिक वरदान जस्तै बाजाढुंगाको किम्बदन्ती निकै रोचक छ। परापूर्व कालमा यहाँ पूजा गर्ने बेलामा नौमती बाजा बजाउनेहरूले धेरै लामो समय बाजा बजाएपछि भगवान प्रशन्न भएर उनीहरूलाई वर माग्न भनेछन्। बाजा बजाउनेहरूले सुनको वर मागेबमोजिम भगवानले पनि त्यही ठाउँ भएर बग्ने रुप्से खोला एकैछिन सुकाइदिएछन्। पानी सुकाएर सुनैसुनको खोला बनाएपछि उनीहरूलाई बन्चरोले सुुनको ढिकमा एक पटक हान्नु र जति आउँछ त्यति लिएर जानु भन्ने आदेश दिएछन्।

खोला सुकेपछि बाजा बजाउनेहरूले एकपटक बन्चरोले हानेछन्। त्यसो गर्दा सुनको सानो चोइटा मात्र आएछ। सुनको चोइटा सानो भएपछि उनीहरूले खोला सुकेको मौकामा फेरि अर्कोपटक पनि बन्चरोले हान्दा भगवान रिसाएर रुप्से खोलामा भीषण बाढी आयो र त्यहाँ भएका सबै बाजा बजाउनेलाई बगायो। त्यहाँ रहेका नौमती बाजा भने यसै ढुंगामा बाजाको आकृतिमा स्वरूप फेरिएको मान्यता छ।

(म्याग्दीका पत्रकार कमल खत्रीको सहयोगमा तयार पारिएको आलेख, तस्बिर कमल खत्री।) 

प्रतिक्रिया दिनुहोस्