फोन गर्न सुको नहुनेहरू अहिले आई फोन बोक्छन्



झापा : १० वर्षअघिसम्म शिविरबाहिर निस्केर साइकलमा श्रम गर्ने भुटानी शरणार्थीहरू अहिले छाप्राभित्रै मोटरसाइकलमा पुग्छन् । पैसा नभएर फोन गर्नसमेत नपाउनेहरू अहिले हजारौँ पर्ने आइफोन बोक्छन् ।

वेलामौकामा नेपाल र भारतका पर्यटकीय शहरसम्म पुग्छन् । औषधिउपचारमा पहिलेजस्तो किचलो छैन । पुनर्वास भएर अमेरिकासम्म पुगेकाहरूको जीवनशैली त बदलिएको छ नै शिविरमा बस्नेको शैली पनि फेरिएको छ ।

‘रासनको भरपर्ने अवस्था अहिले छैन’ शरणार्थी पेम्बा तामाङले भने, ‘दाजुभाउजु अमेरिकामा हुनुहुन्छ । मासिक रूपमा खर्च पठाउनुहुन्छ ।’ सरकारले शरणार्थीका लागि भनेर बनाइदिएको परिचयपत्रको आधारमा बैंकमा खाता खोलेको उनले बताए । परिचयपत्रकै आधारमा उनले लाइसेन्स निकालेका हुन् ।

अमेरिकासहित अन्य आठ मुलुक नगई भुटान नै जाने भनेर बसेका अधिकांश वृद्धवृद्धा शिविरभित्रै छन् । अधिकांशका परिवार अमेरिकालगायतका मुलुकमा भएकाले उनीहरूको जीवनशैलीमा व्यापक परिवर्तन आएको छ ।

शरणार्थी शिविरका पूर्वसचिव डीबी सुब्बाले भने, ‘दाताले दिएको भरमा गुजारा गर्ने शरणार्थीले अहिले मनलाग्दो खान र गर्न पाएका छन् । वृद्धवृद्धा र परिवार नभएकालाई मात्रै सकस छ ।’ आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्