खुट्टैले लेखेर कक्षा १२ सम्म



खोटाङ : सम्झना १९ वर्षकी भइन्  । उमेर बढेसँगै उनले आफूजस्तै शारीरिक अशक्तता भएकाको सेवामा लाग्ने सपना बुन्न थालेकी छन्  ।

खोटेहाङ गाउँपालिका–७ की सम्झना राई शारीरिक रूपमा अशक्त भए पनि मानसिक रूपमा अब्बल छिन् । दुवै हात नभए पनि खुट्टैले लेखेर कक्षा १२ सम्म पुगेकी छन् । उनी भगवती दीनानाथ माविमा अध्ययनरत छिन् ।

उच्च शिक्षासम्म अध्ययन गरेर आफूजस्तै शारीरिक अशक्तहरूलाई सेवा गर्ने उनको भनाइ छ । ‘मजस्तै शारीरिक अशक्तहरूलाई सेवा गर्ने मेरो लक्ष्य छ,’ उनले भनिन्, ‘हामीजस्ता शारीरिक अशक्तहरूका लागि सेवा गरेर नाम कमाउने मेरो उद्देश्य छ ।’

उनी ८ वर्षको हुँदा स्कुल भर्ना भएकी हुन् । खुट्टाले बालुवामा अक्षर लेखेको देखेपछि लेख–पढ गर्न सक्ने रहिछ भनेर स्कुल भर्ना गरिदिएको उनकी आमा सुनीता राईले सुनाइन् । ‘छोरी अपाङ्ग भएपछि साह्रै चिन्ता लागेको थियो,’ सुनीताले भनिन्, ‘अब त आस लागेको छ ।’

मिहिनेती भएकाले केही गर्न सक्ने आशा जागेको उल्लेख गर्दै उनी भन्छिन्, ‘इच्छाअनुसार पढाउन पाए भविष्य राम्रो हुन्थ्यो ।’ आर्थिक अवस्था कमजोर भएकाले उनको पढाइ बीचमै टुट्ने हो कि रु भन्ने चिन्ता आमा–बुवाको छ । केही मनकारीहरूले सहयोग गरे पनि उच्च शिक्षासम्मका लागि कसरी पढाउने भन्ने सुर्ता लागिरहेको सुनीताले सुनाइन् ।

उनका अनुसार बेलायती वेयलफेयरले सपनाका लागि एउटा घरसमेत बनाइदिएको छ । दुईतले जस्ताले छाएको घर बनाइदिए पनि पढाउने खर्च भने अभाव नै छ । यसबाहेक अन्य मनकारीहरूले केही कापी–कलम र कपडा किनेर सहयोग गरेको स्मरण सुनीताले सुनाइन् ।

उनलाई राज्यले कुनै सुविधा नदिएको सुनीताले बताइन् । ‘१० कक्षासम्म पढिन्जेल पाँच सयका दरले छात्रावृत्ति दिए ।’ सुनीताले भनिन्, ‘अहिले केही दिएको छैन ।’ विद्यालयका प्रअ कुमार पराजुलीले भने अध्ययनमा लाग्ने शुल्कहरू छुट दिएको बताए । उनको पढाइ पनि राम्रै भएकाले सहयोग गरे उनको भविष्य राम्रो हुने प्रअ पराजुलीले बताए ।

‘आजसम्म मलाई सहयोग गर्नुहुने सबैलाई धेरै–धेरै धन्यवाद’ उनी थप्छिन्, ‘सहयोगको गुन सेवा गरेर तिर्न सकौं ।’ आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्