विकल्प खोज्दा नेता पुत्रमा नै सिमित हुनुपर्छ भन्ने छैन: सहमहामन्त्री डा.महत



नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले पार्टीको विधानले निर्वाचनबाट पदाधिकारी चयन गर्ने व्यवस्था गरेकाले पार्टीमा योगदान गरेका र चाहाना राख्ने जो कोही पनि चुनावी प्रतिपर्धामा आउन सक्ने बताउनुभएको छ । पार्टीको आसन्न महाधिवेशका सम्बन्धमा न्युज एजेन्सी नेपालसंग कुराकानी गर्दे उहाँले वडा देखि केन्द्रसम्मको निर्वाचन प्रणालीका कारण धेरैलाई प्रतिष्पर्धामा जाने बाटो खोलेको भन्दै उहाँले योग्य र सक्षम उम्मेदबार आकांक्षीका रुपमा अघि आउन सक्ने बताउनुभयो ।

विधानले दोश्रो पुस्तालाई अगाडि आउन नरोकेको भन्दै उहाँले पुर्खाको योगदान वा पुर्खौली विरासतको आधारमा नभई पार्टीमा योगदान गरेको आधारमा उम्मेदवारी चयन गर्न सबै लाई आग्रह गर्नुभयो । पार्टी भित्रका तीन पुत्र नेताहरुको भेटघाटलाई लक्षित गर्दे उहाँले पिताले गरेको योगदानको ब्याज खान पार्नुपर्छ भन्दा पनि योगदानको आधारमा स्थापीत हुनुपर्ने दाबी गर्नुभयो ।

भेटघाटले सकारात्मक संदेश नदिएको भन्दै उहाँले पार्टीमा ठूलो योगदान दिएका लाखौ नेता कार्यकर्ताहरु रहेको बताउनुभयो । उहाँले आफु सभापति पदका लागि पनि योग्य रहेको भए पनि उपसभापति या महामन्त्रीमा उम्मेदवारी दिने बताउनुभयो । उहाँले राष्ट्रिय अन्तराष्ट्रिय परिस्थिति र वर्तमान विशिष्ट राजनितिक परिस्थितिमा बुझेर उपयुक्त नेतृत्व चयन गरिनुपर्छ ।
प्रस्तुत छ, डाक्टर महतसंग महाधिवेशनको तयारी, आगामी नेतृत्व र उम्मेदवारीबारेमा गरेको अन्तरवार्ताको सम्पादितअंश

महाधिवेशन नजिकिएको छ व्यस्तता कत्तिको बढेको छ ? कस्तो छ महाधिवेशनको तयारी ?
हाम्रो महाधिवेशनलाई कोभिड १९ ले धेरै प्रभावित गर्यो । धेरै पटक कार्यतालिकामा संशोधन गर्नुपर्यो । नचाहदा नचाहदै यो परिस्थिति आयो । तर नेतृत्वले सबै कठिनाइका बाबजुद अधिवेशन गर्ने निर्णय गरेको छ । यसको तयारी सबै पक्षबाट भईरहेको छ । क्रियाशिल सदस्यता नामावलीको टुङ्गो लगाउने काम अन्तिम अवस्थामा छ । यसको टुङ्गो लागेपछि अधिवेशन जुनसुकै बेला गर्न सकिन्छ । मौसमजन्य चुनौती र कोभिडको संक्रमणको चुनौती अझै छ । मौसम र कोभिडले असामान्य अवस्था ल्याएन भने तोकिएको समयमा महाधिवेशन सम्पन्न हुन्छ ।

नेतृत्वलाई लिएर आकांक्षीहरु धेरै छन् । पार्टीको राजनीतिमा निरन्तर नेतृत्वमा भएका व्यक्तिहरु र नयाँ आकांक्षीहरु पनि देखिएका छन् । यसलाई कसरी व्यवस्थापन गरिनुपर्छ ?
पार्टीको विधानले कोषाध्यक्ष बाहेक अधिकांश पदमा निर्वाचनको व्यवस्था छ । पालिकाको वडा देखि केन्द्रसम्म निर्वाचन हुन्छ । यसले धेरैलाई प्रतिष्पर्धामा जाने बाटो खोलेको छ । यसले आकांक्षी र उम्मेदवारलाई बढाउँछ । यसबाट पहिलो पिंढी रामचन्द्र दाइ, शेर बहादुर दाइ संगै हामी पनि उम्मेदवार हुन सक्ने अवस्थामा पुगेका छौ । यसले सबै पदहरुमा उम्मेदबार हुने संख्या बढ्यो । यस्तो अवस्थामा निर्वाचनले आफै व्यवस्थापन गर्छ । अर्को व्यवस्थापन भनेको को व्यक्ति कोसंग प्रतिष्पर्धा गर्छ, निर्वाचनमा आन्तरिक रुपमा कसलाई कहाँ मिलाउने भन्ने हुनसक्छ तर को निर्वाचित हुने विषय त निर्वाचनले नै व्यवस्था गर्छ ।

यसमा चुनौति पनि छ अवसर पनि छ । त्यसैले सबैको व्यवस्थापन निर्वाचनले गर्छ । जहाँसम्म सभापतिको उम्मेदवारको कुरा हो हामीलाई पनि लाग्छ पार्टीमा महत्वपुर्ण जिम्मेवारी लिन तयार छौं । यसको बाबजुद राजनैतिक नेतृत्व भन्ने विषय बोलेर मात्रै पुग्दैन । पार्टी भित्रसम्मान दिने संस्कार पनि छ, सुझबुझ अनुभवको कुरा पनि छ, कतिपय कुरा राष्ट्रिय अन्तराष्ट्रिय परिस्थिति पनि हेर्नुपर्छ । अहिले विशिष्ट परिस्थितिमा हामी छौ । यसलाई बुझेर नेतृत्व दिनुपर्ने प्रमुख विषय होे । पार्टी सम्हाल्ने कुरा बाहिर देखिए जस्तो हुदैन । यसकारणले मलाई लाग्छ अनुभव र पछिल्लो अवस्थामा दिनुभएको परिपक्क नेतृत्व जो शेरबहादुर देउवाले दिनुभएको छ । आलोचना टिप्पणीहरु होलान् देउवाको तर अहिलेको अप्ठेरो अवस्थामा उहाँले दिएको नेतृत्वलाई नै निरन्तरता दिनुपर्छ भन्ने ठूलो संख्या छ ।

यसको अर्थ रामचन्द्र पौडेल, शेर बहादुर देउवा, शंशाक कोइराला, विमलेन्द्र नीधिलाई एकै ठाउँमा लडाउने हो त ?
यस्तो छ कुरा, अहिले उपसभापति दुईजना हुनुहुन्छ । पहिला एक जना हुनुहुन्थ्यो । महामन्त्री दुईजना निर्वाचित हुन सक्नुहुन्छ । यदि हामी संगै काम गरौ फलानो पद मलाई नै चाहिन्छ नभनेर अहिले नै हुनुपर्छ भनेर त्याग्ने हो भने ठाउँ छ । होइन म पछि गर्र्दिन अहिले नै हुनुपर्छ भन्ने कुरा आयो भने अवश्य पनि समस्या आउँछ ।

ल फेरि पनि शेर बहादुर देउवा र रामचन्द्र पौडेल नेतृत्वमा नै दोहोरिने हो भने तपाईहरुको राजनीतिक समय, उमेर र भविश्य ५ बर्ष पछाडि धकेलिने छ । यो बारे पनि कठोर भएर निर्णय गर्नुपर्ने बेला आएको होइन र ?
म आफूलाई पनि नेतृत्वको लागि योग्य ठान्छु । सभापति भएर पार्टीलाई हाँक्न सक्छु भन्ने लाग्छ । अगाडि शेरबहादुर देउवाको चर्चा गरेँ, रामचन्द्र दाइ पनि वरिष्ठ र बराबर अनुभव भएको नेता हुनुहुन्छ । हाम्रो अग्रज रहनुभएका दाइहरु हुँदा हुँदै अगाडी बढ्न सकिने अवस्था छैन । यसले हामीलाई नै घाटा छ भन्ने जान्दा जान्दै पार्टीको परम्परा र संरचनाले र अनुभवले दाइहरुको सान्र्दभिकता अहिले पनि छ । हो, यो हामीले बुझेका छौ । हामी केही बर्ष पछि धकेलिनेछौ तर हामी त्यो दाबी गरिरहेका छैनौ ।

मेरो कुरा गर्नुहुन्छ भने म सहमहामन्त्री भईसकेँ सबै किसिमको अनुभव छ तर सभापति दाबी गरिरहेको छैन । यस्तै अरु साथीहरुले पनि माथि दाबी गरिरहनुभएको छ जस्तै विमलेन्द्र जी पनि हुनुहुन्छ । निर्वाचनको समय आईसकेपछि कतिपय बन्छु भनेका हरु फेरी नबन्ने दाउमा पुग्नुहोला । कतिपय उम्मदवारी नै नदिएका साथीहरु नै अगाडि सर्नुहोला । त्यसकारण अहिलेनै यस्तो भईसक्यो भन्ने अवस्था आईसकेको छैन ।

पछिल्लो समय एकदमै चर्चामा रहेको प्रसंग ३ शिर्ष नेताका सुपुत्रहरु संयोगले सबैको पार्टी भित्र अलग अलग योगदान छ । यसलाई बंश वा नाताले जोड्नुपर्दैन । तीनै जनाको घरमा लञ्च मिटिङ्ग भयो यसले नयाँ गुट जन्मायो कि भन्ने छ । पार्टी भित्र दुई समुह अहिले पनि छ । यसलाई कसरी हेर्नुभएको छ ?
उहाँहरुको भेटघाट मात्रैको कुरा त केही होइन तर हामी नेता पुत्र नै त्यसैको हैसियतले त्यसमा नै सिमित रहेर बैठक बस्यो । यसलाई आम कार्यकर्ता पक्तिले सहज रुपमा लिएको छैन । यो पार्टी समग्र जनताहरुको छोराछोरीहरुको पार्टी हो । उहाँका पिता जी नेताहरुले गरेको योगदान ठूलो छ । हाम्रो सम्मान पनि छ । तर यो पार्टी त मेरो बुबा मेरो आमा नेता थिएनन् भने पनि मेरो काम र योगदानको आधारमा हामी स्थापित हुन सक्छौ ।

हामी पार्टी सबै बर्ग, क्षेत्र आउनुपर्छ भनिरहेका छौ । उहाँहरुले जसको बुबाहरु नेता हुनुुहुन्थ्यो, त्यसमा मात्रै सिमित भएर पटक पटक बैठक बस्नुभयो । यसले उहाँहरुको लागि सकारात्मक संदेश दिएको जस्तो मलाई लाग्दैन । पार्टीमा लाखौ नेता कार्यकर्ताहरु छन् सबैको धेरै थोरै योगदान छ । कतिप य अवस्थामा उहाँहरुले गरेको भन्दा बढी योगदान गरेका साथीहरु छन् । यसकारण हामी मिल्यौ भने मात्रै नेतृत्व आउँछ भन्ने कुरा कार्यकर्ताले सहज रुपमा स्वीकार गर्दैनन् । त्यसमा नेता पुत्र पनि बुबा नेता नभए पनि पार्टीमा योगदान गरेका सबै जोडिंदा सहज हुन्छ ।
यो प्रसङ्गको अर्को पाटो पनि छ , अब शेरबहादुर देउवाको अर्को विकल्प खोज्नुपर्छ भन्ने मुख्य देखिन्छ । मान्नुहुन्छ ?
विकल्प खोज्दा नेता पुत्र मा नै सिमित हुनुपर्छ भन्ने छैन नि । विकल्प खोज्न पाईन्छ । पिता नेता नभएका अरुपनि योग्य पात्र छन् नि । विकल्प खोज्न सकिन्छ । ठूलो प्रतिष्पर्धा छ तर यसमा नै सिमित हुनुपर्छ भन्ने छैन ।

लामो समय शेरबहादुर देउवालाई आड, भरोसा, विश्वास, नेतृत्व सहयोग सबै गर्नुभएका विमलेन्द्र नीधि सभापतिको उम्मेदवार हुन्छु भनेर देउवा समुहबाट बाहिरीनुभएको छ । संस्थापन पक्षलाई यसले असर गर्छ । यसको मुल्यांकन कसरी गर्नुभएको छ ?
शेरबहादुर जीको उम्मेदवारी रहिरहँदा र विमलेन्द्र जीले म अलगै लड्छु भन्दा प्रभाव त पर्छ नै । प्रभाव पर्दैन भन्ने छैन । यस विषयमा धेरै साथीहरुले बिमलेन्द्र जीलाई सल्लाह दिँदा अहिलेको अप्ठेरो अवस्थामा शेरबहादुर जीले एकपटक नेतृत्व गर्छु भन्नुभएको छ । समझदारी गरेर जाँदा राम्रो हुन्छ भनेर धेरैले भनेका छन् । यद्यपि उहाँ (विमलेन्द्र निधि) ले लड्छु भन्नुभएको छ । तर म के भन्छु भने अहिले नै अन्तिम टुंगो लागिसक्यो भन्ने निष्कर्षमा पुग्नु हुदैन । नोमिनेसन गर्ने बेलासम्म उहाँले विचार परिर्वतन गर्न सक्नुहुन्छ । त्यसपछि एउटा आम समझदारी पनि बन्न सक्दछ भन्ने मलाई लागेको छ । तर उहाँ आफै उम्मेदवारी दिन योग्य हुनुहुन्छ । उहाँको अधिकार पनि छ । यसलाई सम्मान गर्दे अहिले नै छिनोफानो भईसक्या,े अलग अलग बाटो लागिसक्नुभयो भन्ने मुल्यांकन अलि अपरिपक्क हुन्छ ।

सबैले आ आफ्नो उम्मेदवारी दाबी गरिसकेका छन् तर तपाईले गर्नुभएको छैन । तपाईको दाबी कुन पदमा हो ?
पार्टी सभापति स्वयम्ले पनि साथीहरुको बीचमा भनेपनि औपचारीक रुपमा घोषणा गर्नुभएको छैन । त्यसकारण हामीले पनि घोषणा गर्न हतार गर्नुभएन । तथापि म सहमहामन्त्री भईसकेको छु । पहिला नै महामन्त्रीको लागि दाबी थियो । त्यसको लागि योग्यता र पृष्ठभूमि म संग छ । सभापति पदमा शेरबहादुर दाइ आफै लड्छु भनेकाले सभापति पदमा दाबी छैन । म जाने भनेको महामन्त्री र उपसभापति पदमा हो । म चुनाव लड्ने हो । महामन्त्री वा उपसभापति पदमा लड्छु । नेतृत्व तहसंग पनि प्रारम्भीक कुरा भएको छ । यसको औपचारिक घोषणा समय आएपछि समझदारी र टिम बनेपछि घोषणा गर्नु उपयुक्त भनेर अहिले नगरेको हो । मैले दाबी गरेको पदमा पुग्दा गर्ने काम र दृष्टिकोण स्पष्ट छ ।

फेरि पनि,नेतृत्वले तपाईलाई यो पदका लागि लड्न तयार हुनुहोस् भनेर भनेको होला नि ?
यी कुराहरु भईसकेको छ । यी कुरा नभई म यसरी बोल्ने थिईनँ । त्यो राम्रो पनि हुदैन । हामी संस्कार अगाल्छौ । उत्ताउलो भएर राजनीति कहिलेही गरेनौँ । यस विषयमा छलफल भएको छ । तर औपचारीक रुपमा घोषणा कसैको पनि नभएको अवस्थामा मैले पनि नगरेको हो । तर म सहमहामन्त्री भन्दा माथि महामन्त्री अथवा उपसभापति पदमा लड्छु । यसको औपचारिक घोषणा केही समयपछि गर्छु ।

प्रतिक्रिया दिनुहोस्