यसवर्ष इतिहास कै सबभन्दा बढी धान उत्पादन हुँदा पनि अपुग हुने



काठमाडौंः यो वर्ष इतिहासमै सर्वाधिक धान उत्पादन हुने प्रक्षेपण गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष ५४ लाख ३० हजार मेट्रिक टन धान उत्पादन हुने प्रारम्भिक जानकारी दिएको छ । यसअघि २०७३ मा सर्वा्धिक ५२ लाख ३० हजार मेट्रिक टन धान फलेको थियो । धान नेपालको प्रमुख खाद्यान्न बाली हो ।

 

मन्त्रालयका अनुसार यो वर्षको उत्पादन गत वर्षभन्दा करिब १० प्रतिशत बढी हो । यो वर्षको धान एक खर्ब ३० अर्ब मूल्यको हुने सरकारी अनुमान छ । २०७४ मा ५१ लाख ५२ हजार मेट्रिक टन धान फलेको थियो । धान उत्पादन वृद्धि हुँदा अर्थतन्त्र पनि बलियो हुन्छ ।

 

मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले इतिहासमै सबैभन्दा बढी धान यो वर्ष उत्पादन भएको जानकारी दिए । रोपाइँको समयमा देशभर मनसुनी वर्षा सक्रिय भएकाले धान उत्पादन बढाउन सहयोग पुगेको हो । किसानले बढी उत्पादकत्व दिने बीउ प्रयोग गर्नु, रोग कीराको प्रकोप नहुनु र रासायनिक मल पनि उपलब्ध भएकाले उत्पादन उत्साहजनक देखिएको छ ।

 

१५ लाख ५२ हजार हेक्टर धानखेतमध्ये यो वर्ष १४ लाख ८० हजार हेक्टरमा रोपाइँ भएको थियो । यो करिब ९६ प्रतिशत हो । नेपालमा खेती गरिने कुल क्षेत्रफलको ४७.५ प्रतिशत जमिनमा धानखेती हुन्छ । यसमध्ये क्षेत्रफल र उत्पादनका आधारमा तराईको हिस्सा ७० प्रतिशत छ । धान उत्पादन वृद्धिले यो वर्ष कुल ग्रार्हस्थ उत्पादन (जीडीपी) मा पनि उल्लेखनीय योगदान पुग्ने कृषि विज्ञको भनाइ छ ।

 

कृषिको योगदान जीडीपीमा २७ प्रतिशत र कुल ग्रार्हस्थ उत्पादन २०.७५ प्रतिशत छ । जीडीपीमा भने धानको योगदान सात प्रतिशत हाराहारीमा छ । धान उत्पादनमा १० प्रतिशतले तलमाथि हुँदा जीडीपी एक प्रतिशत घटबढ हुन्छ । यो वर्ष प्रक्षेपण गरिएको धानको मूल्यले जीडीपीमा झण्डै एक खर्ब ३० अर्ब ३२ करोड मूल्यकोे योगदान पु¥याउनेछ । ‘जति बढी धान फल्यो, जीडीपीमा पनि हिस्सा बढ्छ’, पूर्वकृषिसचिव डा. सुरोज पोखरेलले भने, ‘किसानसँगै मुलुक पनि आर्थिकरूपमा समृद्ध हुन्छ ।’ धान बालीलाई मुलुकको अर्थतन्त्रको मेरुदण्डसँग जोडिएको छ ।

उत्पादन बढ्दा पनि अपुग 

नेपालको कुल जनसंख्या करिब दुई करोड ८९ लाख ८२ हजार सात सय ७१ जनालाई दुई छाक वर्षभर पेटभर भात खुवाउन ३९ लाख ९९ हजार ६ सय २२ मेट्रिक टन चामल आवश्यक पर्छ । खाद्य तथा पोषणका आधारमा प्रतिव्यक्ति प्रतिवर्ष एक सय ३८ किलो चामल चाहिन्छ । यो वर्ष स्वदेशमा उत्पादन हुने प्रक्षेपण गरिएको करिब ५४ लाख ३० हजार मेट्रिक टन धान प्रशोधन गर्दा ३६ लाख ९२ हजार चार सय मेट्रिक टन चामल तयार हुन्छ । सय किलो धान प्रशोधन गर्दा ६८ किलो चामल तयार हुन्छ ।

 

यसरी हेर्दा यो वर्ष स्वदेशमा धानबाट उत्पादन हुने चामलले वर्षभरि सारा नेपालीको पेट भर्न तीन लाख सात हजार दुई सय २२ मेट्रिक टन चामल अपुग हुने देखिएको छ । यही चामल नपुगेर भारतसहित तेस्रो मुलुकबाट आयात गर्नुपर्ने बाध्यता छ । साउनदेखि असोजसम्म १२ अर्ब रुपैयाँबराबरको खाद्यान्न आयात भएको छ । चामलमात्रै सात अर्ब ६३ करोड रुपैयाँको झण्डै दुई लाख मेट्रिक टन आयात भएको छ । भन्सारको तथ्यांकअनुसार गत आवमा धान, चामल र टुक्रे चामल गरी २९ अर्ब ३६ करोड ३६ लाख रुपैयाँको ७३ करोड ७४ लाख ५९ किलो आयात भएको छ । चामल भारत र तेस्रो मुलुकबाट आयात हुन्छ । आजको अन्नपूर्णपोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्