नेकपाबाट निर्वाचित वडाध्यक्षसहित डेढ सय बढी नेता कार्यकर्ता कांग्रेस प्रवेश



जाजरकोट : जाजरकोटमा डेढ सय बढी नेकपा कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् । निर्वाचनको एक वर्ष नपुग्दै नेकपा नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका हुन् ।

उनीहरुलाई कांगेसका नेता एवं पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर राणाले पार्टी प्रवेश गराएका हुन् । कांग्रेस कुशे गाउँ कमिटीले बुधबार आयोजना गरेको आमसभामा एकीकृत माओवादी केन्द्रबाट स्थानीय तहको निर्वाचनमा विजयी वडा अध्यक्षसहित सदस्यहरु कांग्रेस प्रवेश गरेका हुन् ।

कांग्रेस प्रवेश गर्नेमा कुशे पाउँपालिका ६ का वडाध्यक्ष अमर शाहीसहित ८ जना सदस्य छन् । कुशे गाउँपालिका ६ घरंगामा आयोजित आमसभामा पार्टी प्रवेश गर्नेलाई उचित जिम्मेवारीसहित व्यवस्थापन गर्ने तरुण दलका पूर्वअध्यक्ष एवं राज्यमन्त्री राणाले बताए । 

उनले भने, ‘नेकपाले निर्वाचनमा जनतालाई भुूटा आश्वासन दियो, त्यसअनुसार काम गर्न सकेन । उल्टै जनतामाथि ज्यादती र आतंक सिर्जना गर्ने काम सरकारबाटै भइरहेको छ ।’ दुई तिहाईको सरकारले शान्ति सुरक्षा स्थापना गर्न नसकेको राणाले बताए । 

बलात्कार दिनदिनै भइरहेका छन्, सरकारकै संरक्षणमा फरक पार्टीमाथि आक्रमण भइरहेको उनले आरोप लगाए । राणाले भने, ‘सरकारको आलोचना बढ्न थालेपछि विरोधीलाई दबाउन नेकपा आक्रमणमा उत्रिएको छ ।’ 

 

कांग्रेस प्रवेश गरेका वडाध्यक्ष शाहीले जनताको मुक्ति र देश परिवर्तनको नारा दिएर १० वर्ष जनयुद्ध लडेको पार्टी सरकारमा भए पनि जनताका पक्षमा काम गर्न नसकेको दाबी गरे । उनले कांग्रेसले मात्र देशमा विकासको लहर ल्याउन सक्ने बताए । कार्यक्रममा कांग्रेसका नेताहरूले गाउँ गाउँमा संगठन विस्तारको कार्यक्रम गरिने पनि बताए । 

प्रतिक्रिया दिनुहोस्