पीपीएल : पोखरा पल्टनमाथि धनगढीको रोमान्चक जित



पोखरा (हाम्रो खेलकुद): नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा एक्सपर्ट धनगढी ब्लुजले पोखरा पल्टनलाई २ विकेटले पराजित गरेको छ । कप्तान दीपेन्द्रसिंह ऐरी र इंग्लिस अलराउण्डर पिटर ट्रेगोले उत्कृष्ट प्रदर्शन गरेपछि धनगढीले जित हात पारेकाे हाे । १ सय ४५ रनको लक्ष्य पछ्याउने क्रममा धनगढीले अन्तिम ओभरमा एक बल बाँकी छँदै ८ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । 

 

अन्तिम ओभरमा जितका लागि १४ रन आवश्यक पारेको स्थितिमा मेहबुब आलमको बलिङमा दीपेन्द्रले १ छक्का र २ चौका प्रहार गरेका थिए । जितसँगै धनगढी ६ अंकसहित तालिकाको शीर्षस्थानमा पुगेको छ । यद्यपी धनगढीले आफ्नो प्लेअफमा स्थान सुरक्षित भएको पक्का गर्न अन्य नतिजा पनि कुर्नुपर्ने छ । यता पोखराले भने शनिबार काठमाडौं रोयल्ससँगको खेलपछि मात्र आफ्नो प्लेअफ सम्भावनाबारे टुंगो पाउनेछ ।

 

धनगढीको जितमा दिपेन्द्रसिंह ऐरी आक्रामक ४९ रन र पिटर डेभिड ट्रेगोले अर्धशतकीय इनिङ्स खेले। ३४ बलमा ट्रेगोले ५ चौका र ४ छक्कासहित ५३ रन प्रहार गरे । ओपनर सुवेन्दु पाण्डेले २२ रन बनाए । कप्तान दीपेन्द्र सिंह ऐरीले नटआउट ४९ रन जोडे । उनले २६ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । सन्दीप जोरा ९ रनमा ललित राजवंशीको बलमा बोल्ड आउट भए । ड्यानियल लरेन्स र सौरभ खनाल समान ३-३ रनमा आउट भए । पोखराका रसिद खानले ४ ओभरमा २४ रन खर्चंदै ४ विकेट लिए । ललित राजवंशी र विक्रम भुषालले समान २ विकेट लिए ।

 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन जोडेको थियो । धनगढीका लागि कमलले ४ ओभरमा १ मेडनसहित २३ रन खर्चेर ४ विकेट लिएको थियो । खराब सुरुवात गरेको पोखराका लागि मध्यक्रममा युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले सर्वाधिक ३१ रनको योगदान दिए । रवि इन्दर सिंह २८ रनमा आउट भए । ओपनर आसिफ शेख २३ रनमा आउट भए । कप्तान शरद भेषवाकर १४ रनमा पेभेलियन फर्किए ।

 

पोखराले ४ रन जोड्दा पहिलो विकेटको रुपमा २ ओभर १ बलमा कुशल भुर्तेललाई ३ रनमा गुमाएको थियो । त्यसपछि ८ ओभर ३ बलमा रवि इन्दर सिंह कमल सिंह ऐरीको बलमा सुवेन्दु पाण्डेबाट क्याच आउट भए । मेहबुब आलम कमल सिंह ऐरीको बलमा बोल्ड आउट भए । आसिफ र रविले दोस्रो विकेटको लागि ४४ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए । विनोद भन्डारीले ७ रन जोडे । विक्रम भुषाल र रसिद खान रनमा क्रिजमा रहे । धनगढीका कमल सिंह ऐरीले ४ विकेट लिए । पिटर डेभिड ट्रेगो, ड्यानियल लरेन्स र रोविन क्षेत्रीले समान १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्