गणतन्त्र आएको एक दशक : गरिबकाे अवस्था भने जस्ताकाे त्यस्तै



म्याग्दी : आज ११ औं गणतन्त्र दिवस । वि सं २०६५ साल जेठ १५ गते ऐतिहासिक संविधानसभाको पहिलो बैठकले दुई शताब्दी भन्दा लामो राजतन्त्रको अन्त्य गरी नेपाललाई संघीय गणतान्त्रिक मुलुक घोषणा गरिएको दिन ।

यो दश वर्षको अवधिमा मुलुकको शासकीय संरचनामा धेरै नै परिवर्तन भयो ।कैयौं राजनीतिक पार्टीको नेतृत्वमा सरकार बन्यो । मुलुक संघीयतामा प्रवेश ग¥यो । तीनवटै तहको निर्वाचन सम्पन्न भयो । जनताले चुनेका प्रतिनिधिले शासन गर्न थाले । विकास निर्माणले गति लियो । ठाउँठाउँमा गाडी गुडे,भवन बने ।

तर यति धेरै परिवर्तन भएपनि गरिब जनताको अवस्थामा भने परिवर्तन आउन नसकेका गुनासाहरु सुनिन् छोडेन । झुपडीको वास,एक छाक गास र झरी वर्षाको त्रासबाट गरिब जनताले मुक्ति पाउन सकेनन् । गिट्टी कुट्ने,बालुवा चाल्ने,भारी बोक्ने, ज्याला मजदुरीमा श्रमिकको काम गर्ने गरिब जनताको अवस्था भने ज्यूँको त्यूँ रहेको उनीहरुको गुनासो रहेको छ ।

गणतन्त्र स्थापना भएको एक दशक नाघिसक्दा पनि नागरिकले आशा गरेजस्तो उपलब्धि भने खासै नदेखिएको गाउँका वस्तीवस्ती र शहरका चोकचोकमा चर्चा चल्ने गरेको पाइन्छ ।कालीगण्डकी, म्याग्दी लगायतका विभिन्न नदी किनारमा बालुवा चाल्ने,गिट्टी कुट्ने,ढुङ्गा बोक्ने देखि घर भवन निर्माण, सामान ओसारपसार गर्ने, यातायातको क्षेत्रमा काम गर्ने, कलकारखानामा दैनिक ज्यालादारी गरेर मजदुरी गर्ने नागरिकलाई गणतन्त्र र संघीय सरकारको कुनै प्रत्याभूति हुन सकिरहेको छैन ।

बेनी नगरपालिका ७ वस्ने जमुना नेपालीलाई देशमा अहिले कुन व्यवस्था छ र गाउँको जनप्रतिनिधि को हो भन्नु कुराको जानकारी छैन । २६ वर्ष अघिदेखि निरन्तररुपमा म्याग्दी नदीको किनारमा गिट्टी कुटिरहनुभएकी जमुना गणतन्त्रको कुनै पनि अनुभुती नभएको बताउनुहुन्छ । उहाँलाई मजदुरी गरेर दैनिक ६ सय ज्याला बुझेर छोराछोरीको पढाई खर्च, घरखर्च त्यसैबाट चलाउनुपर्ने बाध्यता छ ।

‘जे व्यवस्था आएपनि हाम्रो अवस्थामा कुनै परिवर्तन आउन सकेन,हाम्रो अवस्था पहिलो जस्तो थियो अहिले पनि त्यस्तै छ, भरपर्दो ओत लाग्ने ठाउँ छैन,विरामी पर्दा उपचार गराउने पैसो छैन,भोक लाग्दा खाने अन्न छैन । जुन व्यवस्था र जसको सरकार आएपनि हामीलाई के फरक प-यो र’  जमुनाले भन्नुभयो । 

त्यसैगरी बेनी बजारको मंगलाघाट वस्ने तिलु विकलाई पनि गिट्टी नकुटे सम्म साँझ बिहानको हातमुख जोर्ने अर्को उपाय छैन । म्याग्दी नदीको किनार, खोला छेउछाउमा दिनभर गिट्टी कुटेर विकले जीवन धान्दै आउनुभएको छ । 

गिट्टी कुट्ने र त्यसैबाट लिएको कमाईबाट साँझ बिहान चुल्होमा आगो बल्छ, यसरी नै उहाँहरुको दिनचर्या बितिरहेको छ । उहाँहरुलाई गणतन्त्रको कुनै प्रत्याभुती नै छैन । सोही ठाउँकी ६२ वर्षिया शोभा किसान पनि निरन्तर गिट्टी कुट्ने गर्नुहुन्छ ।

नदी किनार, खोलाका छेउछाउमा पुगेर ढुंगा खोज्ने, दिनभर गिट्टी कुट्दै दिन वितेको उहाँलाई पत्तो छैन । ‘हाम्रो ज्याला ५ वर्ष अघिकै छ, दाल चामल र तरकारीको भाउ छोइसक्नु छैन,हामीलाई त विहान र बेलुका कसरी पेट भरौं भन्ने चिन्ता छ, शासन व्यवस्थाको के वास्ता हजुर हामीलाई’ विकले भन्नुभयो । विक र किसान जस्ता धेरै मजदुरहरुले गणतन्त्रको बारेमा अनभिज्ञता प्रकट गरेका छन् । 

‘नेपाली जनताको अथक प्रयास र ठूलो बलिदानीले गर्दाे देशमा गणतन्त्र स्थापना भएको छ । गणतन्त्रमा गरिब जनताको अवस्था फेरिनु पर्छ, साँझ विहान के खाउँ भन्ने पिरलोबाट गरिब जनताले मुक्ति पाउनु पर्छ, विरामी पर्दा सहज रुपमा उपचारको व्यवस्था हुनु पर्छ अनि बल्ल गणतन्त्रको सार्थकता र उद्धेश्य पूरा हुन्छ’नेपाली कांग्रेस म्याग्दीका सचिव क्या. मीनवहादुर कार्कीले बताउनुभयो ।

२०४६ सालमा मुलुकमा निरंकुश पन्चायत शासन हटाएर प्रजातन्त्र आयो । देशमा लामो दशवर्षे जनयुद्धपछि २०६२/०६३ मा राजतन्त्र हटाएर लोकतन्त्र ल्याउनका लागि ठुलो आन्दोलन भयो । 

२०४६ सालको आन्दोलन देखि लिएर गणतन्त्र स्थापना हुदा सम्म धेरै नेपालीहरुले देश र नेपाली जनताको लागि ज्यान गुमाउनुप-यो ।

तर जुन उद्धेश्यले आन्दोलन भयो सोही अनुसार समय परिवेश संगै नेपाली जनताले मुलुकमा आशा गरेजस्तो उपलब्धि नपाउँदा निराशा हुनु परेको सचिव कार्कीले बताउनुभयो । २०६२/०६३को ऐतिहाँसिक आन्दोलनमा म्याग्दीको पनि महत्वपूर्ण भूमिका रहेको थियो । गाउँगाउँबाट झरेका महिला, वस्तीवस्तीबाट आएका किसान,र मजदुरहरुले थाल ठटाएर,हसिँया र कोदाली प्रदर्शन गरेर,गैची बेल्चा उठाएर आन्दोलन गरेका थिए ।

काठमाण्डौँ, चितवनको भरतपुर, पाल्पा,पोखरा र म्याग्दीको बेनीबाट निरंकुश राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाका लागि ठूलो आन्दोलन गरिएको थियो ।यसै आन्दोलनलाई पनि गणतन्त्रको सुरुवातीका रुपमा लिने गरिन्छ । ‘अझै नि लोकतन्त्र आको छैन है, जनताले भनेझै भाको छैन है, निरकुंश दासत्व हामीलाई चाहिदैन गणतन्त्र नल्याई त मुक्ति पाइदैन है’ ….कलाकार बद्री पंगेनीको गितले भनेझै गणतन्त्र आएको लामो समय सम्म नेपाली जनतालाई गणतन्त्रको प्रत्याभुती नहुनु भनेको आन्दोलनको उद्धेश्य पूरा हुन नसकेको धेरैको बुझाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्