मुहान सुक्दा खानेपानीको हाहाकार



जाजरकोट : कुशे गाउँपालिका–१ स्याङ्गीधाउनीका एक सय घरपरिवारलाई खानेपानीको जोहो गर्न सास्ती छ । गाउँमा खानेपानीको हाहाकार मच्चिएपछि स्थानीयवासीलाई दुई घण्टा टाढाको खोलाबाट पानी बोकेर पिउनुपर्ने बाध्यता भएको हो ।

अग्लो टाकुरोको बस्ती त्यसैमा सुख्खा र खडेरीले आसपासका मुहान सुक्दा समस्या भएको वडाध्यक्ष गोपालबहादुर नेपालीले बताए । उनका अनुसार स्थानीयवासीले गाउँबाट टाढा रहेका कुवा र नाउलोबाट पानी बोकेर ल्याउने गरेको छ । पानी अभावको समस्या वडा कार्यालय र विद्यालयमा समेत परेको छ ।

पानी अभावले गाउँभरका शौचालय प्रयोगविहीन भएका छन् । सात किलोमिटर दूरीको लडा लेकको खानेपानी योजना निर्माण नगरेसम्म समस्या भइरहने स्थानीयवासीको भनाइ छ । बजेट अभाव देखाउँदै स्थानीय तहले खानेपानी योजना निर्माणमा चासो नदेखाएको उनीहरूको गुनासो छ ।

पानी अभावले गणेश आधारभूत विद्यालय स्याङ्गीका विद्यार्थीले दिवा खाजासमेत खान पाएका छैनन् । बोकेर ल्याएको पानीले डेढसय विद्यार्थीलाई पकाएर खुवाउन नसक्दा दिवा खाजा बन्द गर्न बाध्य भएको प्रधानाध्यापक उत्तमीलाल यादवले बताए । 

त्यस्तै कुशे–८, जिन्तालामा पनि खानेपानीको हाहाकार मच्चिएको छ । पुरानो खानेपानी योजनाको मुहान सुक्दा र नयाँ योजना निर्माणमा बजेट नहुँदा जिन्तालामा खानेपानीको अभाव भएको हो । मुहान सुक्दै गएकाले जिन्तालाका तीन सय घरपरिवारलाई घण्टौं पैदल हिँडेर गाग्रीमा पानी बोक्नुपर्ने बाध्यता भएको स्थानीयवासी रमेश सिंहले बताए ।

दुई दशक पुरानो खानेपानी योजनाको मुहान सुख्दा र उक्त योजनाको मर्मत नहुँदा समस्या भएको उनले बताए । बर्षेनी फागुनदेखि गाउँमा खानेपानीको अभाव चुलिने गरेको उनले सुनाए । सिंहका अनुसार जिन्तालामा खानेपानी ल्याउनका लागि करीब नौ किलोमिटर टाढाको मुहानको विकल्प छैन ।

कुशे गाउँपालिकाले सबै वडामा स्वच्छ खानेपानी पु¥याउने उद्देश्य राखे पनि बजेट अभावले पूरा हुन नसकेको उपाध्यक्ष रामछाया शाहीले बताए । वन विनाश र सुक्खा खडेरीका कारण पानीका स्रोत सुकेपछि झन् खानेपानीको अभाव भएको छ । जाजरकोटमा तीन सय खानेपानी योजनाको मर्मत सम्भार हुन नसक्दा स्थानीय बासिन्दा स्वच्छ पिउने पानीबाट वञ्चित भएको जिल्ला समन्वय समितिले जनाएको छ ।

जिससका अनुसार खानेपानी अभावमा जाजरकोटका ६ हजार घरपरिवार खोला, नदी, कुवालगायतको दूषित पानी पिउन बाध्य छन् । जिल्लाका २५ हजार घरधुरीमा स्वच्छ पानी पिउने पानीको सुविधा पुगेको जिससको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस्