उच्चस्तरीय अध्ययन कार्यदल वीपी प्रतिष्ठानमा



धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन कार्यदल धरान पुगेको छ ।
प्रधानमन्त्री एवं मन्त्रीपरिषद कार्यालयका सचिव डा.वैकुण्ठ अर्यालको संयोजकत्वमा गठन भएको कार्यदल प्रतिष्ठान आएको हो । कार्यदलमा ८ सदस्य छन् । प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाले बिहिबार कार्यदल गठन गरेका हुन् ।
विगत ३५ दिनदेखि प्रतिष्ठानको सुद्धिकरण गर्ने उद्देश्यले चिकित्सक, विद्यार्थी, कर्मचारी र नर्सिङहरुले आन्दोलन गरिरहेका छन् । प्रतिष्ठानमा आर्थिक अनियमितता एवं भ्रष्टचार बढेको भन्दै पुर्णरुपमा सुद्धिकरण हुनुपर्ने आन्दोलनकारीको माग छ । गएको असार १५ गते वार्ताको क्रममा उपकुलपति डा.ज्ञानेन्द्र गिरीले मदिरा सेवन गरेर आएको भन्दै वार्ता भाँडिएपछि पदाधिकारी र आन्दोलनकारीबीच संवाद हुन सकेको थिएन ।
आन्दोलनकारीले असार १६ गते चारै जना पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी गर्दै राजीनामा दिनुपर्ने माग राखेका थिए । उनीहरुले पदाधिकारीहरुसँग वार्ता नगर्ने र सहकुलपति वा कुलपतिस्तरबाट गठित उच्चस्तरीय समितिसँग मात्र वार्ता गर्ने अडान लिएका थिए । देउवा प्रधानमन्त्री भएलगत्तै आन्दोलनकारीले ४८ घण्टाभित्र माग पुरा नगरे सम्पूर्ण सेवा बहिष्कार गर्ने चेतावनी दिएपछि कार्यदल गठन भएको हो । कार्यदलको सदस्य सचिवमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सामाजिक विकास तथा रुपान्तरण महाशाखाका सहसचिव शंकर नेपाल छन् ।
यस्तै सदस्यहरुमा शिक्षा मन्त्रालयका सहसचिव डा.बैकुण्ठ लम्साल, स्वास्थ्य मन्त्रालयका सहसचिव डा.गुणराज लोहनी, कानुन मन्त्रालयका सहसचिव शुशिल कोइराला, महालेखा नियन्त्रक कार्यालयका सहमहालेखा नियन्त्रक ज्ञानेन्द्र पौडेल, सार्वजनिक खरीद अनुगमन कार्यालयबाट सहसचिव विष्णु कोइराला छन् भने प्रतिष्ठानका सिनेटर एवं प्राध्यापक डा.सञ्जिव शर्मा पनि कार्यदल सदस्य छन् । कार्यदलले प्रतिष्ठानका सरोकारवाला पक्षसँग वार्तासँगै अनियमितता भएको आशंका गरिएको बिषयमा पनि गहिराईसम्म छानबिन तथा अध्ययन गर्ने बताइएको छ । कार्यदलले आफ्नो अध्ययन तथा छानबिन प्रतिवदेन कुलपति एवं प्रधानमन्त्री देउवा समक्ष पेश गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्