डोटीमा मतदाता नामावली अद्यावधिक सुरु



डोटी : जिल्ला निर्वाचन कार्यालयले जिल्लामा मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य शुरुआत गरेको छ । कार्यालयले यहाँका नौवटै स्थानीय तहमा नागरिकलाई आफ्नो नामावली दर्ता, जन्ममिति सच्याउन तथा स्थान परिर्वतनका लागि कार्यालयमा प्रमाणसहित आउन आग्रह गरेको छ ।

कार्यालयले यहाँका राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय तहका जनप्रतिनिधिसँगका सहकार्यमा यही साउन ३ गतेदेखि अद्यावधिकको काम शुरु भएको कार्यालय प्रमुख दलबहादुर मलासीले जानकारी दिए । जिल्लाका कूल मतदाता सङ्ख्या एक लाख १७ हजार ६१७ रहेको कार्यालयले जनाएको छ । ती नामको अद्यावधिक गर्न राजनीतिक दल र स्थानीय निकायलाई सहजीकरणका लागि आग्रह गरिएको उनले बताए ।

विसं २०७४ मा भएको प्रतिनिधि सभाका निर्वाचनमा जिल्लामा ५७ हजार ४०० महिला र ४९ हजार १४३ पुरुष मतदाता रहेका थिए । अहिले मतदाता सङ्ख्या एक लाख १७ हजार ६१७ रहने अनुमान कार्यालयको छ । थपिएकाको नामावली अद्यावधिकको कामका लागि सबै राजनीतिक दलहरुलाई सहयोग गर्न कार्यालयले आग्रह गरेको छ । अद्यावधिकका क्रममा नाम दोहोरिएको, मृत्यु भएको, ठाउँ परिर्वतन, श्रीमान्, श्रीमतीको नाम परिर्वतन (सच्याउन) तथा नामावलीमा अन्य कुनै त्रुटि भएको भए सच्याइने कार्यालयले जनाएको छ । सो निर्वाचनमा जिल्लामा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ ६९ हजार ३२ र समानुपातिकतर्फ ६९ हजार १४९ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्