दूधमा अनुदान पाएपछि पशुपालनतर्फ किसान



चितवन : भरतपुर महानगरपालिकाले किसानलाई दूधमा प्रतिलिटर रु तीन अनुदान दिने भएको छ । विगत दुई वर्षदेखि प्रतिलिटर दूधमा रु एक अनुदान दिँदै आएको महानगरपालिकाले चालू आर्थिक वर्षमा प्रतिलिटर रु दुई बढाएको हो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार दूधको गुणस्तर र उत्पादन वृद्धि गरेर किसानलाई प्रत्यक्ष लाभ पुर्याउने उद्देश्यले अनुदान रुकममा वृद्धि गरिएको हो । यसबाट किसान प्रत्यक्ष रुपमा लाभान्वित हुँदै उत्पादन बढ्ने महानगरपालिकाको लक्ष्य छ । किसानको समस्यालाई बुझेर लाभ पुर्याउने उद्देश्यले क्रमश वृद्धि गरी प्रतिलिटर रु तीन पुर्याइएको उनको भनाइ छ । उनले भने, “यसबाट प्रत्यक्ष रुपमा किसानले लाभ पाउनेछन् ।” हालसम्म सहकारीमार्फत अनुदान दिँदै आएकोमा यस वर्षबाट सोझै किसानको खातामा अनुदान पठाउने तयारी गरिएको प्रमुख दाहालको भनाइ छ । यस कार्यक्रमबाट महानगरभित्रका १० लाखभन्दा बढी किसान प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् । प्रमुख दाहालका अनुसार गत आर्थिक वर्षमा दूधमा रु एक करोड ५८ लाख १५ हजार ८४४ अनुदान दिइएको छ ।

चौवालिस सहकारी, पाँचवटा कृषि फार्म र एक समूहले अनुदान पाएका हुन् । अघिल्लो आर्थिक वर्षमा रु एक करोड ६२ लाख ६१ हजार ५८७ अनुदान दिइएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकामा जनप्रतिनिधि आएसँगै प्रतिलिटर २५ पैसा अनुदान दिएर कार्यक्रम शुरु गरिएको थियो । प्रमुख दाहालले भने, “नेपालमा नै हामीले पहिलो पटक दूधमा अनुदान दिन शुरु गरेका हौं ।” भरतपुर महानगरपालिका देशभरका ७५३ पालिकामध्ये सबैभन्दा बढी दूध उत्पादन हुने पालिका भएको उनको भनाइ छ । यहाँ दैनिक एक लाख लिटर हाराहारी दूध उत्पादन हुने तथ्याङ्क छ । केही वर्षअघि गरिएको सर्वेक्षणमा वार्षिक तीन करोड ३२ लाख लिटर दूध उत्पादन हुने गरेको तथ्याङ्क सङ्कलन भएको थियो । यस आर्थिक वर्षमा दूधमा अनुदान दिन रु पाँच करोड १० लाख विनियोजन गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्