कांग्रेस महाधिवेशन : ‘डिजिटल’ प्रणालीबाट मतदानको तयारी



काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन ‘डिजिटल’ प्रणालीबाट गर्न सकिने गरी प्रविधि तयार गरेको छ । महाधिवेशनमा ‘डिजिटल भोटिङ’ बाट मतदान गर्ने तयारी थालिएको छ । कांग्रेसको सूचना, सञ्चार तथा प्रविधि विभागले ‘डिजिटल भोटिङ’का लागि प्रविधि सुनिश्चित गरेको छ ।
विभागका सचिव दिनेश थापा मगरद्वारा जारी विज्ञप्तिमा ७७ वटै जिल्लाको पार्टी कार्यालयमा उपस्थित भएर मतदान गर्नसक्ने प्रविधि तयार गरिएको उल्लेख छ । ‘डिजिटल भोटिङ’बाट प्रदेश र केन्द्रीय समितिको निर्वाचन गर्न सकिने विज्ञप्तिमा जनाइएको छ ।
विभागले त्यसका लागि तयारी स्थितिमा रहेकोसमेत भनेको छ । विभागको असार २४ र २५ गते भौतिक र भर्चुअल दुबै प्रक्रियाबाट सम्पन्न बैठकले ‘डिजिटल भोटिङ’ को अवधारणालाई अन्तिम रुप दिएको हो ।
कोरोना महामारी न्यून भएर महाधिवेशन भौतिक रुपमै आयोजना गर्न सकिने आशाका बावजुद विभागले ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधि विकास र सुनिश्चित गरेको सचिव मगरले बताए ।
कांग्रेस केन्द्रीय समितिले ‘डिजिटल भोटिङ’को निर्णय लिएमा विभागले प्राविधिक व्यवस्थापन निश्चित गर्ने विज्ञप्तिमा उल्लेख छ ।
‘केन्द्रीय समितिले जरुरी ठहर गरेर निर्णय गरेका खण्डमा शुन्यबाट शुरु गर्नु नपर्ने गरि विकास गरिएको प्रविधि तत्काल आवश्यक नपर्दा भविष्यका लागि पार्टीसँग प्रविधिको सम्पत्ति र सक्षमता सुरक्षित हुने विश्वास विभागले लिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
‘डिजिटल भोटिङ’ को नमूना प्रदर्शनीको आन्तरिक कार्य योजना समेत विभागले तय गरेको छ भने जिल्ला तहसम्म प्रविधि प्रशिक्षण र सहजीकरणका लागि दक्ष इन्जिनियरहरुको नेटवर्क तयार गरिएको जनाएको छ ।
प्रविधिमैत्री अभियान अन्तर्गतको थप प्रगति बारे पार्टी केन्द्रीय समितिमा प्रतिवेदन पठाउने र केन्द्रीय समितिको निर्देशन अनुरुप प्रविधिको अन्य व्यवस्थापकीय प्रबन्ध निश्चित गर्ने गरिने बताइएको छ ।
पार्टीको १४ औं महाधिवेशनको प्रचारलाई विगत भन्दा भिन्न र जीवन्त शैलीमा अघि बढाउने तयारीसमेत विभागको छ । त्यस क्रममा बिषय केन्द्रित प्रचारलाई गहन बनाउन केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसँग आवश्यक समन्वय गर्ने विभागको तयारी छ ।
कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ सम्म काठमाडौंमा हुने तय भएको छ तर पार्टीको क्रियाशील सदस्यताको विवाद अझै टुंगो लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्