काँग्रेस क्रियाशील सदस्यता विवाद : अनशन बस्ने अमरेश सिंहको धम्की



काठमाडौं । नेपाली काँग्रेसको क्रियाशील सदस्यता वितरणसम्बन्धि विवाद तत्काल समाधान गर्न प्रदेश २ का नेता तथा कार्यकर्ताहरूले पार्टी सभापति शेरबहादुर देउवालाई दवाव दिएका छन् ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिँदै आएका कांग्रेसका धनुषा, सर्लाहीलगायतका नेता, कार्यकर्ताले एकपक्षीय ढंगले वितरण गरिएका क्रियाशील सदस्यता बदर नगरे पार्टी कार्यालयमा आमरण अनसन बस्ने चेतावनीसमेत दिएका हुन् ।
पार्टीको विधानसम्मत ढंगले न्यायपूर्ण तरिकाले क्रियाशील सदस्यता वितरणमा भएको धाँधलीको तत्काल छानबिन नभए आफूहरू आमरण अनसनमा बस्न बाध्य हुने कांग्रेस नेता अमरेश कुमार सिंहले चेतावनी दिए । छिटोभन्दा छिटो यो समस्या समाधान गर्न उनले सभापति देउवासँग माग गरे ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी भाद्र १६–१९ गर्ने मिति तोकिएको छ । तर क्रियाशील सदस्यता वितरणमा नै धाँधली गरिएको भन्दै विरोधमा कांग्रेसका प्रदेश २ का नेता, कार्यकर्ताहरू पार्टी कार्यालयमा अनसनमा बसेका छन् ।
उनीहरूले जिल्ला छानबिन समितिले दिएको सुझावका आधारमा सदस्यतासम्बन्धी विवाद समाधान नगरे मान्य नहुने चेतावनीसमेत दिएका छन् । जिल्ला छानबिन समितिले केन्द्रलाई दिएको सुझावका आधारमा सो सदस्यता वितरणसम्बन्धी विवाद समाधान नगरे मान्य नहुने केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्