बकर इद आज मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा



काठमाडौं । मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर इद (ईद उज अजहा) को अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। सबै सरकारी कार्यालय, निकाय र विदेशस्थित नेपाली नियोगमा बुधबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जानकारी दिए।

मुस्लिम धर्मावलम्बीले आज एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिई यो पर्व मनाउँदैछन् । आज बिहान स्नान गरी इद्गार वा मस्जिदमा गई मुस्लिम समुदायका भक्तले सामूहिक नमाज पढेपछि एकअर्कालाई इद मुवारक भन्दै शुभकामना आदानप्रदान गर्छन् ।

नमाज पढेपछि मुस्लिम धर्मग्रन्थ कुरानअनुसार खसी, बोका, राँगा, बाख्रा, भैँसी, भेडा र ऊँट आदि चौपायालाई बलि अर्थात् कुर्वानी दिने प्रचलन छ ।

नेपाल मुश्लिम संघले गृहमन्त्री बालकृष्ण खाँणलाई बकर इदमा बिदा दिन ध्यानाकर्षण गराएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले बकर इदमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्