सरकारविरुद्ध सडक संघर्ष गर्ने नयाँ शक्तिकाे निष्कर्ष



काठमाडौं: डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले सरकारविरुद्ध सडक संघर्ष गर्ने निर्णय गरेको छ ।  शुक्रबार काठमाडौंमा सम्पन्न पार्टीको १५ औं संघीय कमिटीको पूर्ण बैठकले जनताको पक्षमा काम गर्न पूर्णतः असफल भएको निष्कर्ष निकाल्दै सरकारविरुद्ध सडक संघर्ष गर्ने निर्णय गरेको हो । 

 

निर्मला पन्तको हत्यारालाई कार्वाही गर्न नसकेको, भ्रष्टाचार नियन्त्रण गर्न नसकेकालगायतका कारण सरकारविरुद्ध सडक संघर्ष गर्ने निर्णय लिनुपरेको पार्टीका संयोजक डा.भट्टराईले जानकारी दिएका छन् ।

 

बैठकले तत्काल संविधान संशोधन गर्न पनि सरकारसँग माग गरेको छ । राज्य पुनर्संरचना गर्न र मुलुकलाई राष्ट्रपतीय प्रणालीमा लैजान संविधान संशोधन गर्न सरकारसँग माग गरिएको पनि संयोजक भट्टराईले जानकारी दिए ।

 

नयाँ शक्ति पार्टी, नेपालले बुढिगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै निर्माण गर्नुपर्ने लगायतका विषयमा सरकारलाई दवाव दिन माग १५ गतेदेखि फागुन १५ गतेसम्म राष्ट्रव्यापी जागरण अभियान पनि सञ्चालन गर्ने निर्णय गरेको छ । राष्ट्र र जनताको पक्षमा जनमत सृजना गर्न सो जागरण अभियान सञ्चालन गर्न लागिएको पनि संयोजक भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्