बेलायती प्रधानमन्त्री कार्यालय अगाडि गोर्खाहरुको रिले अनशन गर्ने



काठमाडौं । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले बेलायतले आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै लण्डनमा बेलायती प्रधानमन्त्रीको निवास अगाडि रिले अनसन गर्ने भएको छ । समान पेन्सनलगायत अधिकारको माग गर्दै आन्दोलनरत समितिले लन्डनस्थित प्रधानमन्त्रीको कार्यालय अगाडि रिले अनशन गर्न लागेको हो ।
सुरुमा १३ जना भिसीको नाममा १३ दिने रिले अनशन र त्यसपछि भोक हड्ताल गरिने समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले जानकारी दिए ।
यसअघि नेपाल सरकारले समितिलाई पत्र पठाउँदै गोर्खा मुद्दा समाधानका लागि बेलायत सरकारसँग प्रत्यक्ष रूपमा वार्ता गर्न पहल गरिरहेको जानकारी दिएपछि समितिले जुलाई १ देखि गर्ने तय गरेको आमरण अनशन तीन साता स्थगन गरेको थियो ।
समितिले आफ्ना मागप्रति बेलायतले वास्ता नगरेको भन्दै अनशन बस्ने तयारी गरिरहँदा गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) र ब्रिटिस गोर्खा वेलफेयर सोसाइटी (बीजीडब्लूएस) ले भने विज्ञप्ति जारी गर्दै अनशनको सट्टा वार्ताबाटै समस्या समाधान गर्न जोड दिएका छन् ।
गत आइतबार लण्डनइस्थित नेपाली दूतावासमा गोर्खा मुद्दाबारे छलफल हुँदा राजदूत लोकदर्शन रेग्मीले समस्या समाधानका लागि नेपाल सरकारले पहल गरिरहेको जनाउँदै अनशन नबस्न सुझाएका र अन्य सहभागीले समेत त्यो उचित विकल्प नभएको बताएका विज्ञप्तिमा छ । गेसोले पहिले पनि अनशन जस्ता कार्यक्रमबाट गोर्खाप्रतिको विश्वास र प्रतिस्ठा घट्ने भन्दै विरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्