एमालेले सोध्यो २२ सांसदलाई स्पष्टीकरण (पत्रसहित)



काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवालाई विश्वासको मत दिने आफना पार्टीका २२ सांसदलाई नेकपा एमालेले स्पष्टीकरण सोधेको छ ।
सर्वोच्च अदालतको परमादेश आकर्षित नहुने भाषा मिलाएर एमालेले उनीहरुसँग स्पष्टीकरण सोधेको हो ।
साउन ५ गते पठाइएको २४ घण्टे स्पष्टीकरणमा शेरबहादुर देउवालाई विश्वासको मत दिएको विषय उल्लेख नगरी पार्टी र संसदीय दलको विधानविपरीतका क्रियाकलाप गरेको लगायतका अभियोग लगाइएको छ । उनीहरुमाथि पार्टीविरुद्ध भेला तथा गुटगत गतिविधि गरेको र पार्टी निर्णय विपरीत विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण काम गरेको पनि आरोप लगाइएको छ ।
अदालतले देउवालाई समर्थन गरेका सांसदलाई कारवाही नगर्न आदेश दिएकाले स्पष्टीकरणमा सो विषय उल्लेख गरिएको छैन । २४ घण्टाभित्र स्पष्टीकरण चित्तबुझ्दो नदिएमा साधारण सदस्यलगायत पार्टीको जिम्मेवारीबाट निष्कासन किन नगर्ने ? भनी प्रश्न सोधिएको छ ।
आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिँदा वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले फ्लोर क्रस गरेर मत दिएका थिए । त्यसको भोलिपल्ट बसेको एमाले अध्यक्ष ओली पक्षीय नेताहरु मात्र रहेको केन्द्रीय कमिटी बैठकले २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले माधव नेपालसहितका २२ सांसदलाई बुधबार स्पष्टीकरण सोध्दै पत्र पठाइएको बताए । उनका अनुसार ईमेलमार्फत र हार्ड कपी पनि सम्बन्धित सांसदहरुसम्म पठाइएको छ ।
एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले २४ घण्टाको समय दिएर स्पष्टीकरण सोध्नुपर्ने प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्