साउनमा पनि चुरा पोतेको व्यापार हुन सकेन



काठमाडौँ: यस वर्ष साउन महिनामा पनि चुरा पोतेको व्यापार सन्तोषजनक हुन सकेको छैन ।
.
साउन लागेसँगै काठमाडौंको असन बजार हरियो, राता, पहेलो चुरा, पोते, मेहेन्दीे र पहेँलो कपडाले सजिएको छ । तर गत वर्षहरुमा जस्तो ग्राहक भने आएका छैनन् । महिला दिदीबहिनीले हातमा मेहेन्दी र चुरा लगाएर व्रत बस्ने हुनाले यतिबेला इन्द्रचोक र असन बजारमा महिलाहरुको अत्याधिक भीड लाग्ने गर्दथ्यो ।

यसपटक कोरोनाका कारण भनेजति व्यापार हुन नसकेको असनका व्यापारी राजु लामिछानेले बताएको छ। लकडाउन खुलेपनि कोरोनाको डरले गर्दा मानिस घरमै थुनिन बाध्य भएकाले व्यापार सन्तोषजनक हुन नसकेको लामिछानेले गुनासो पख्यो। उनले यसवर्ष साउनको पहिलो साता वितिसक्न लाग्दा पनि गत वर्षको तुलनामा ७/८ प्रतिशत मात्र व्यापार भएको बताए । सबैलाई कोभिड विरुद्धको भ्याक्सिन लगाउन सके व्यापार आशा गरे अनुसार हुने विश्वास उनको छ ।

उनले भने “मानिसको कमाइ छैन, कसरी किन्न आउनु ? गत वर्षको तुलनामा यस वर्षको बजार धेरै डाउन छ । सरकारले कोभिड विरुद्धको भ्याक्सिन लगाउन सक्यो भने अलि बढ्थ्यो कि ? ”

त्यस्तै असनकै अर्की व्यपारी निरु भट्टराईले साउन महिना परापूर्वकालदेखि शिवजीको पूजाआराधना गरेर मनाइने भएकोले हरियो चुरापोते र मेहेन्दी लगाएर मनाइने गरेको बताए।

प्रकृतिले नयाँ स्वरुप परिवर्तन गर्ने महिनाको रुपमा परिचित साउनमा महिलाले हातमा मेहेन्दी र हरियो चुरा लगाएर महिनाभर महादेवको पूजाआराधना गर्दछन् । प्रकृति हरियालीमा रमणीय देखिने भएकोले आफ्नो श्रृंगारलाई प्रकृतिको हरियालीसँग मिसाउँदै साउन महिनामा शिवजीको पूजाआराधना सहित व्रत बस्ने गरिन्छ । यसरी व्रत बस्न पाउँदा महिला दिदीबहिनीहरु उत्साहित हुने गर्दछन् । यो महिना भगवान शिवको प्यारो महिना भएकोले प्रकृति अनुरुप हरियो पहिरनमा श्वेत अक्षता, बेलपत्र, धतुरो, नरिवल चढाएर पूजा गरेमा सम्पूर्ण मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्