बाँके र चितवनमा नहरमा डुबेर ५ जनाको मृत्यु



काठमाडौं । चितवन र बाँकेमा नहरमा डुबेर पाँच जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार नहरमा डुबेर बाँकेमा तीन जना र चितवनमा दुई जनाको मृत्यु भएको हो ।

बकर इदको अवसरमा रमाइलो गर्न भन्दै बाँकेको नेपालगञ्जबाट कोहलपुर गएका तीन युवाको कोहलपुर नगरपालिका १० चटारस्थित डुडुवा खोलामा रहेको नहरमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–११ श्रृष्टि हल नजिक बस्ने १६ वर्षीय अरिब जसगढ, सोही ठाउँका १७ वर्षीय अरमान जसगढ र सदरलाइन बस्ने १८ वर्षीय रासिद जसगढ छन् । सो स्थानबाट अन्य दुई जनालाई उद्धार गरेको प्रहरीले जनाएको छ।

यस्तै चितवनको भरतपुर महानगरपालिका–२ क्षेत्रपुरका १६ वर्षीय अंकित जोशी र १४ वर्षीय विवेक शर्माको पनि नहरमा डुबेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार करिब चार बजेको समयमा क्षेत्रपुरको खुल्ला चौरमा क्रिकेट खेलेर नजिकै रहेको नहरमा हातखुट्टा धुने क्रममा विवेक चिप्लिएर नहरमा खसेका थिए।

नहरमा खसेका साथीलाई बचाउन जाने क्रममा अंकित पनि बगेका थिए ।उनीहरुको भरतपुर अस्पतालमा उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्