हिमालपारिको दुःख: ट्रयाक्टरमा खोप ढुवानी



मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङमा खोप ढुवानीमा समस्या हुने गरेको छ । वर्षायामसँगै बढेका नदी खहरेका कारण साना सवारीको आवागमन नै रोकिएपछि ट्र्याक्टरमा खोप ढुवानी गर्नुपरेको हो ।

गत २९ असारमा मुस्ताङको लोमान्थाङ गाउँपालिकाले ट्र्याक्टरमा ढुवानी गरेर ज्येष्ठ नागरिकका लागि दोस्रो मात्रा खोप लगाएको छ । भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सदरमुकाम जोमसोमबाट लोमान्थाङ ढुवानी गर्न पाण्डाखोलाले असजिलो पारेको थियो ।

लोमान्थाङबाट जोमसोमका लागि पठाइएको एम्बुलेन्स कागबेनीनजिकै रहेको माण्डा खोलामा रोकिएपछि ट्र्याक्टरमा ढुवानी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले बताए । यहाँबाट गएको एम्बुलेन्स तर्न सकेनु, भण्डारीले भने, दुई दिन रोकिएर ट्र्याक्टरमा खोला तारेपछि एम्बुलेन्समा लोमान्थाङ ल्याइयो ।

कोरोना भाइरसविरुद्धको खोप सुरक्षाका लागि ट्र्याक्टरमा लिएर लोमान्थाङ गाउँपालिकाका स्वास्थ्य संयोजक तेन्जिङ नोर्बु गुरुङ आफैँ ट्र्याक्टरमा गएका थिए । माथिल्लो मुस्ताङमा समस्या छैन, कागबेनी आसपास हुँदै बग्ने खोलानालाले दुःख दिइरहेका छन्, भण्डारीले भने, अनेक विकल्प गरी गाउँमा खोप पुर्‍याएका छौँ ।

खोलामा पुल नरहेको र वर्षा भइरहेकाले बाढी आउँदा साना सवारी आवतजावतमा समस्या भएको हो । यसअघि पनि मुस्ताङमा खोला बढेका कारण खोप तार्न कठिन भएपछि दाउराको सहायताले स्वास्थ्यकर्मीले खोप वारपार बनाएको तस्बिर ‘भाइरल’ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्